१७ बैशाख २०८१, सोमबार

प्रदेश सरकारको बजेट पारित



धनगढी । सात नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट शनिबार प्रदेश सभामा पारित भएको छ ।
शनिबारको संसद बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक वर्ष २०७५/०७६ को २५ अर्ब छ करोड ५६ लाख १४ हजार रुपैयाँकोे बजेट ध्वनीमतद्वारा पारित भयो ।
गत ३ गतेदेखि जारी बजेटमाथिको छलफल सकिएपछि शनिबार संसद बैठकमा निर्णयार्थ प्रस्तुत भएको थियो । शनिबारको संसद बैठकमा विनियोजन विधेयक र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसंगै प्रदेश सञ्चित कोषबाट खर्च गर्न सक्नेगरी ब्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ । शनिबारको बैठकबाट पारित भएको बजेट साउट १ गतेबाट कार्यान्वयनमा आउने छ ।
प्रदेश सरकारको राजश्व तथा व्ययको विवरण (बजेट) प्रदेश सभामा निर्णयार्थ पेस हुनुअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
अर्थमन्त्री बोहराले डल्लो बजेट नाम दिएर अर्थ विविध शिर्षकमा राखिएको बजेटका बारेमा बढी चर्चा भएको भन्दै सो बजेट प्रदेश भित्रका स्थानीय तहहरूलाई सशर्त अनुदान र विशेष अनुदान प्रदान गर्नका लागि व्यवस्था गरिएको बताए ।
अर्थ विविध शिर्षकको बजेटमध्ये स्थानीय तहलाई दिइने सशर्त अनुदानका लागि एक अर्ब र विशेष अनुदानका लागि ५० करोड रुपैयाँ छुट्ट्याइएको मन्त्री बोहराले स्पष्टिकरण दिए । उनले सो शिर्षकमा प्रदेशका ३२ वटै प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्ट्याएको ६४ करोड रुपैयाँ पनि रहेको स्पष्ट पारे । प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचनमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । उनले अन्य केही साना कामका लागि समेत गरी अर्थ विविध शिर्षकमा दुई अर्ब ५० करोड रुपैया रहेको बताए । यो रकम कुल बजेटको २३ दशमलव ८५ प्रतिशत हो ।
मन्त्री बोहराले मन्त्रालयगत रुपमा बजेटको सबैभन्दा बढी हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको बताए । सो मन्त्रालयका लागि ३७ दशमलव दुई प्रतिशत बजेट छुट्ट्याइएको छ ।
शनिबारको बैठकमा बजेट पारित हुनुअघि छलफलमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभाका सबै सदस्यको चिन्ता, चासो र शंका प्रदेशको बजेट कार्यान्वयन कसरी हुन्छ भन्नेमा रहेकोले कार्यान्वयन पक्ष बलियो बनाएर सरकारले शंका निवारण गर्नुपर्ने बताए ।
प्रमुख सचेतक तामाङले बजेट कार्यान्वयन गर्न सरकारले छिटो आवश्यक ऐन कानून बनाएर प्रदेश सभामा पेस गर्नुपर्ने बताए ।
यसअघि बजेटको समर्थनमा बोल्दै नेकपाका सांसद वीरमान चौधरीले प्रदेश सरकारले जनतालाई यो मेरो सरकार हो र मेरो लागि काम गर्छ भन्ने अनुभुति दिने गरी काम गर्नुपर्ने बताए ।
बैठकमा नेकपाका सांसद अक्कलबहादुर रावलले पनि बजेटको समर्थनमा बोलेका थिए । प्रदेश सभाको अर्को बैठक असार १८ गते सोमबार बिहान ८ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार