२१ भाद्र २०८१, शुक्रबार

मातृ तथा बालमृत्यु दर कम गर्नेछौं–मन्त्री सोडारी



धनगढी । सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशमा मातृ तथा बाल मृत्युदर घटाउन सरकारले नीति तर्जुमा गरिरहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा शुक्रबार धनगढीमा भएको मातृ तथा बाल मृत्युदर न्यूनिकरण सम्बन्धी सेवा प्रदायकहरुसंगको गोष्ठीको उद्घाटन गर्दै मन्त्री सोडारीले प्रदेशमा मातृ तथा बाल मृत्युदर झैं उच्च रहेको चर्चा गरे ।
उनले गर्भवति आमा, नवजात शिशु र बाल मृत्युदर न्यूनिकरण गर्न स्वास्थ्यकर्मी जिम्मेवार भएर लाग्न आग्रह गरे । ‘प्रदेश, स्थानीय तथा संघीय सरकारले आवश्यक नीति बनाउने हो’ उनले भने– यसलाई लागु गर्ने काम स्वास्थ्यकर्मीको हो । उनले प्रदेशमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, सशक्तिकरण गर्न लगायतका काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले सरकारले बाल तथा मातृ मृत्युदर न्यूनिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरे पनि अझै आशातीन सुधार आउन नसकेको बताए ।
‘विगतको तुलनामा बाल मृत्यु र मातृ मृत्युदरमा केही कमी आएका छन्’ उनले भने– तर, अझै पनि प्रदेशमा राष्ट्रिय तथ्यांक भन्दा दोब्बर मृत्युदर रहेको छ ।
उनका अनुसार प्रदेश ७ मा प्रति हजारमा नवजात मृत्युदर ४९, बाल मृत्युदर ६९ रहेको छ । त्यस्तै मातृ मृत्युदरको प्रदेश अनुसार सर्वेक्षण नहुँदा यकिन तथ्यांक भने छैन् । उनले प्रदेशमा राष्ट्रिय तथ्यांकको तुलनामा प्रदेशमा मातृ मृत्युदर पनि उच्च रहेको हुन सक्ने अनुमान व्यक्त गरे ।
सामाजिक विकास मन्त्रालयका सचिव गगन हमालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भटचन, सेती अञ्चल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर प्रदिप मिश्र, प्रदेश ७ का नौ वटै जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका संघ/संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार