१६ कार्तिक २०८१, शुक्रबार

तालिम केन्द्र खाली गर्न निर्देशन



धनगढी । स्थानीय प्रशासनले धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरस्थित क्षेत्रीय पशु स्वास्थ्य तालिम केन्द्रको छात्रावास तथा कर्मचारी क्वार्टर दुई दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
यसअघि धनगढीमा प्रदेश सातको अस्थायी राजधानी तोकिएपछि कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यालय तथा मन्त्रालय व्यवस्थापन समितिले सो तालिम केन्द्रमा यातायात व्यवस्था कार्यालय राख्ने निर्णय गरेको बताइन्छ ।
धनगढीको मुख्य सडकमा बनेको यातायात व्यवस्था कार्यालयको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको छ । अहिले यातायात व्यवस्था कार्यालय भाडाको घरमा रहेको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०६१ सालमा निर्माण भएको सो पशु स्वास्थ्य तालिम केन्द्रको भवन कर्मचारी तथा प्रशिक्षार्थीहरूको आवासका लागि प्रयोग भइरहेको छ । “मुख्यमन्त्रीको कार्यालयबाट फोन गरेर दुई दिनभित्र भवन खाली गर्न निर्देशन आएको छ” नाम नखोल्ने सर्तमा तालिम केन्द्रका एक जना कर्मचारीले भने– “नभए प्रहरी लगाएर खाली गर्ने भनेका छन् ।” ती कर्मचारीका अनुसार मंगलबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा गएको टोलीले पनि तालिम केन्द्रको सो भवन खाली गर्न निर्देशन दिएको बताइएको छ ।
संघीय सरकारले हरेक प्रदेशमा पशु स्वास्थ्य तालिम केन्द्र राख्ने व्यवस्था गरेको छ । “संघीय सरकारले हरेक प्रदेशमा तालिम केन्द्र राख्ने भनेर कार्यक्रम पनि दिइसकेको छ” केन्द्रका बरिष्ठ तालिम अधिकृत उत्तम थापाले भने– “संघीय मन्त्रालयले सो भवनमा ‘तरल नाईट्रोजन उत्पादन प्लान्ट’ प्रयोजनका लागि प्रयोग गर्ने भनेको छ ।” बरिष्ठ तालिम अधिकृत थापाले पशु स्वास्थ्य विभागले अन्य कुनै पनि प्रयोजनका लागि भवन नछोड्न परिपत्र गरिसकेको बताए ।
“हाम्रो विभागले भवन नछोड भन्छ, प्रशासन भवन खाली गर्न दवाव दिँदैछ” उनले भने– “विभागले खाली गर भन्ने निर्देशन दिएमा हामी छोड्न तयार तयार छौं ।”
उनले तालिम केन्द्रको अंग छात्रावास रहेको बताउँदै प्रदेश सरकारले विकल्प दिएर छोड्न भनेमा कुनै अप्ठ्यारो नहुने बताए । बरिष्ठ तालिम अधिकृत
थापाले कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यालय तथा मन्त्रालय व्यवस्थापन समितिले यातायात व्यवस्था कार्यालयको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राख्ने र क्षेत्रीय पशु स्वास्थ्य तालिम केन्द्रको छात्रावास यातायात व्यवस्था कार्यालयलाई दिने निर्णय भएको भनिए पनि आफूलाई निर्णयपत्र अहिलेसम्म प्राप्त नभएको बताए ।
यातायात व्यवस्था कार्यालय सेती अञ्चलले भने सो भवनमा बोर्ड टाँगिसकेको छ । आठ दिनअघि यातायात व्यवस्था कार्यालयले सो भवनमा बोर्ड राखेको थियो । कार्यालयले बोर्ड टाँगे पनि कागजपत्र तथा अन्य सामग्री भने अझैं राखेको छैन । यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुषालले भने– “हामीसँग निर्णय छ, सोही अनुसार केही दिनमा त्यहाँ सर्छौ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार