२ माघ २०८१, बुधबार

अतिक्रमित नाला खोलियो



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, नैनादेवी मन्दिरदेखि पूर्व जिल्ला बन कार्यालय हुँदै सुख्खा नालासम्मको अतिक्रमित नाला शुक्रबार खोलिएको छ ।
नैनादेवी टोल विकास समितिको अगुवाई तथा स्थानीयबासीको सहयोगमा ३० वर्षदेखि अतिक्रमित सो नाला डोजर लगाएर खोलिएको छ । स्थानीयका अनुसार नगर विकास समितिको कमजोरीका कारण सो क्षेत्रमा रहेका नालाहरू विद्यालयहरू तथा अन्यले अतिक्रमण गरेका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले हरेक वर्षायाममा डुबानको चर्को समस्या भोग्नु परेपछि टोल विकास समिति तथा टोलबासी अतिक्रमण हटाएर नाला खोल्न अग्रसर भएको बताए ।
नैनादेवी मन्दीरदेखि जिल्ला बन कार्यालयको पछाडीसम्म करिब एक किलोमिटर लामो सो अतिक्रमित नाला आठ फिट चौडा रहेको छ । नैनादेवी टोल विकास समितिका अध्यक्ष भरत देउवाले भने– ३० वर्ष अघिसम्म यहाँ नाला थियो, तर नगर विकास समितिको कमजोरीका कारण पटकपटक नाला अतिक्रमण गरेर घरहरू निर्माण भए । सो टोलमा दुई सय बढी घरधुरी रहेका छन् ।
सो नाला अतिक्रमण भएकोले वर्षायाममा सो टोल प्राय: जलमग्न हुने गरेको थियो । स्थानीय मानमती देवी बुडालले भनिन्– नक्सामा नाला देखियो, तर चलनचल्तीमा थिएन । उनले नाला अतिक्रमण हुँदा वर्षायाममा घरभित्र पानी पसेर अन्नपातमा नोक्सानी पुर्‍याउने गरेको बतायन् । ‘बाहिर निस्कनै नसकिने अवस्था हुन्थ्यो, कहिलेकाँही घरभित्र पानी जमेर छतमा रात विताउनुपर्ने अवस्था हुन्थ्यो’ उनले नाला खोलीएपछि केही राहत हुने बताइन् ।
स्थानीयले सबैले नाला खोल्न सहमती जनाए पनि सोही क्षेत्रमा रहेको जयमालिका कलेजले भने नालाको बाटो छोड्न नमानेको स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार सो कलेजले नालाको जग्गा हो भनेर थाहा पाउँदापाउँदै पनि अतिक्रमण गरेर विद्यालयको शौचालय र पुस्तकालय बनाएको थियो ।
शुक्रबार टोल विकास समितिको अगुवाई तथा वडाध्यक्ष मुडभरी, वडा सदस्य सुवास चन्दसहितका जनप्रतिनिधिको उपीस्थतिमा डोजर लगाएर नाला सफा गरिएको थियो । कलेज व्यवस्थापन समितिका सदस्य मिनबहादुर धामीले टोल विकास समितिले कुनै जानकारी नै नदिएर विद्यालयको पर्खाल, सौचालय र लाईब्रेरीमा डोजर लगाएको आरोप लगाए । उनले भने– पूर्व जानकारी नै नदिएर डोजर लगाउँदा धेरै नोक्सानी भएको छ ।
उनले आफूहरू विकास विरोधी नभएको र नाला खोल्नमा कुनै असहमती नभएको बताए । ‘तर, हामीलाई वैकल्पिक व्यवस्था गर्न समय दिनुपथ्र्यौ’ उनले भने ।
वडा अध्यक्ष मुडभरीले टोल विकास समितिले अतिक्रमित नाला खोलेर सराह्रनीय काम गरेको बताए । उनले सो नालालाई व्यवस्थित बनाउन धनगढी उपमहानगरपालिकाको योजनाबाट बजेट विनियोजन गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार