अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विविध कार्यक्रम



टीकापुर । कैलालीको टीकापुरमा बिहीबार चौथो अन्तर्राष्ट्रिय योग दिवसको औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।
पतञ्जली योग नगर समिति टीकापुर र टीकापुर योगाश्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा टीकापुर नगरपालिका, टीकापुर उद्योग वाणिज्य संघ, युएन ट्रेड कन्सर्न लगायतले सहयोग गरेका थिए ।
कार्यक्रमको टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका थिए । कार्यक्रम पतञ्जली योग नगर समिति टीकापुरका अध्यक्ष वासुदेव बजगाईको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नगर प्रमुख तपेन्द्र रावललाई टीकापुरका हरेक टोलमा दैनिक रूपमा योगाभ्यासको लागि योग साधना हल निर्माणका लागि ज्ञापनपत्र बुझाइएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, टीकापुर योगाश्रमका अध्यक्ष मुक्तीनाथ रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको योग प्रशिक्षक दीर्घराज गिरीले सञ्चालन गरेका थिए भने पतञ्जली योग महिला समिति कैलालीका पूर्व अध्यक्ष गीता गिरी र टीकापुर योगाश्रमका सदस्य खुशीराम चौधरीले योगाभ्यास प्रस्तुतिकरण गरेका थिए ।
सो अवसरमा जनजागृति मावि सीतापुरका विद्यार्थीहरूले योगसम्बन्धी विशेष प्रस्तुति गरेका थिए ।
कार्यक्रममा टीकापुर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी, योग प्रशिक्षक, साधक साधिका, सञ्चारकर्मी, सुरक्षाकर्मी राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्