१० श्रावण २०८१, बिहीबार

डिजिटल एक्सरे आयो, राख्ने ठाउँ छैन



धनगढी । धनगढीस्थित सेती अञ्चल अस्पतालमा डिजिटल एक्सरे (डिआर) मेसिन आइपुगे पनि जडान गर्ने कक्षको अभावमा अलपत्र झैं परेको छ ।
राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरले सेती अञ्चल अस्पताललाई प्रदान गरेको सो डिजिटल एक्सरे मेसिन पाँच दिनअघि आइपुगेको बताइएको छ । तर, कक्षको अभावमा अहिलेसम्म सो एक्सरे मेसिन जडान हुन सकेको छैन ।

फाइल तस्बिर

मंगलबार अस्पताल विकास समितिको बसेको बैठकले जनशक्ति तथा ठाउँ अभावका कारणले सो एक्सरे मेसिन हाल जडान गर्न नसकिने निर्णय गरेको थियो ।
सेती अञ्चल अस्पतालमा अहिले एउटा सिआर प्रविधिको एक्सरे मेसिन सञ्चालनमा रहेको छ । “सिआर मेसिनलाई हटाएर भए पनि डिआर मेसिन जडान गर्न दवाव आएको छ” सेती अञ्चल अस्पताल स्रोतले भन्यो– “सिआर मेसिनबाट अहिले काम भइरहेको छ, त्यसलाई तत्काल हटाउन सकिदैन ।”
सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कपिल गौतमका अनुसार हाल अस्पतालबाट दैनिक एक सय बढि बिरामीले एक्सरे सेवा प्राप्त गरिरहेका छन् ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौतमले एक्सरे मेसिन जडान गर्न केही समय लाग्ने बताए “हामीले मेसिन जडान गर्न केही दिन लाग्ने निर्णय गरेका हौं, फिर्ता गर्ने भनेका छैनौं” उनले भने– “केही मानिसले सिआर मेसिन हटाएर डिआर मेसिन जडान गर्न भनेका थिए, तर त्यो सम्भव छैन ।” उनले अस्पतालले भएका उपकरणहरूको सदुपयोग र नया“ उपकरणको व्यवस्थापन गरेर अस्पतालको सेवामा सुधार ल्याउने प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार