१२ माघ २०८१, शनिबार

२६ अर्ब बढीको बजेट आउँदै



धनगढी । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले २६ अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागेको जानकारी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा मंगलबार धनगढीमा आयोजित तालिम कार्यक्रम उद्घाटनका क्रममा आर्थिक मामिला मन्त्री वोहराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब रुपैयाँ अनुदान र प्रदेश सरकारको आन्तरिक स्रोत समेत गरी आगामी आर्थिक वर्षको बजेटको आकार २६ अर्ब रुपैयाँ बढी हुने बताए ।
मन्त्री वोहरलो आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण, जलविद्युत, उद्योग र कृषिलाई प्राथमिकतामा राखिने बताए । उनले प्रदेशमा बाह्य लगानी आकर्षित गर्न कर छुटको विशेष व्यवस्था समेत गरिने बताए ।
उनले करदातालाई ‘कर’ का आधारमा कर तिर्ने नभई रहरले कर तिर्ने वातावरण बनाउन सरकारले विशेष ध्यान दिने बताए । उनले भने– “जनतालाई करकाप गरेर होइन्, रहरले कर तिर्न प्रोत्साहित गर्नुपर्छ । जनतालाई मेरो राज्य र मेरो सरकारको अनुभूति दिनु पर्छ ।”
उनले करमैत्री वातावरण बनाउन पनि विशेष पहल गरिने बताए । मन्त्री वोहराले भने– “प्रदेश सरकारले करको दायरा फराकिलो बनाउने भन्दा पनि करका नयाँ क्षेत्रको पहिचान गर्ने छ ।”
संघीयता कार्यान्वयनको चरणमा बजेट आउन लागेको भन्दै मन्त्री वोहराले विकास र समृद्धिको आधार वर्षका रूपमा बजेटको कार्यान्वयन हुने बताए ।
कार्यक्रममा प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले अब आर्थिक क्रान्तिको अभियान अगाडि बढ्नुपर्ने बताए ।
युनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासको लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार