१० पुष २०८२, बिहीबार

बजेट अभावमा खानेपानी योजनाहरू लम्बिँदै



धनगढी । कैलालीमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गत सञ्चालनमा रहेका योजनाहरूको निर्माण अवधि लम्बिदै गएका छन् ।
पर्याप्त बजेट र जनश्रमदानको अभावमा लामो समयसम्म सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूको निर्माण अवधि सर्दै गइरहेको जनाइएको छ । चार वर्षभित्रै निर्माण कार्य पुरा हुनुपर्ने कतिपय योजना दश वर्ष भइसक्दा पनि अझैं अधुरै रहेको पाइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गत हाल कैलालीमा ९७ वटा खानेपानी योजना सञ्चालनमा रहेका छन् । तीमध्ये चार वटा योजना दश वर्षदेखि (आर्थिक वर्ष २०६४/०६५) देखि सर्दै आएका छन् । पुराना योजनाको निर्माण कार्य पुरा नभए पनि हरेक वर्ष नयाँ योजना थपिने गरेका छन् । तर, सरकारले सबै योजनाका लागि पर्याप्ते बजेट उपलव्ध गराउन नसकेपछि आयोजनाको काम लम्बिदै गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर गणेशदत्त जोशीले बताए ।
चालू आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका र काम पुरा नभएर विगतदेखि सर्दै आएका योजनाहरूको निर्माण कार्य पुरा गर्न कम्तिमा ६ सय करोड रुपैयाँको आवश्यकता पर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजन कार्यालय, धनगढीका अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित बजेट समेत सबै योजनामा गरी हालसम्म ५० करोड रुपैयाँ खर्च भइसकेको छ । इन्जिनियर जोशीले भने– खानेपानीका सबै योजनाको निर्माण कार्य पुरा गर्न अझै साढे पाँच सय करोड रुपैयाँ आवश्यक छ, त्यसैले सबै आयोजनाको काम समयमै पुरा गर्न चुनौति रहेको छ । उनले उपभोक्ताबाट आवश्यक मात्रामा जनश्रमदान नहुँदा पनि समस्या बढेको बताए ।
कैलालीमा हाल सञ्चालनमा रहेका सबै ९७ खानेपानी आयोजनाको काम ३० प्रतिशत मात्रै पुरा भएको जनाइएको छ । हालसम्म निर्माणाधीन प्राय: आयोजनामा कार्यालय भवन निर्माण, कम्पाउण्ड वाल, ओभरहेड टंकी, डिप बोरिङ, विद्युतीकरण, पाइप खरिद, फिटिङ खरिद, पाइप लाइन खन्ने तथा पुर्ने काम, भल्व चेम्वर जस्ता काम भएका छन् ।
कैलालीमा आर्थिक वर्ष २०६४/०६५ सालदेखि सरि आएका बलिया खानेपानी, गदरिया खानेपानी, हसुलिया खानेपानी, प्रतापपुर खानेपानी र पहलमानपुर खानेपानी आयोजनाको काम चालू आर्थिक वर्षभित्र पुरा हुने डिभिजन कार्यालयले अपेक्षा लिएको छ । ती पाँच आयोजनाको हालसम्म ९० प्रतिशत काम पुरा भइसकेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार