नीति तथा कार्यक्रममाथिको छलफल जारी : सत्तापक्ष र प्रतिपक्षबीच जुहारी
धनगढी । सात नम्बर प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ । आइतबारको प्रदेश सभा (संसद) को बैठकमा नीति र कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्षबीच राम्रै जुहारी चल्यो ।
संसद बैठकमा प्रतिपक्षका सांसदहरूले सरकारको नीति र कार्यक्रम गन्तव्य र उद्देश्यबिहीन भएको भन्दै चर्को आलोचना गरे । भने सत्तापक्षका सांसदले सरकारको नीति र कार्यक्रम निकै राम्रो रहेको भन्दै बचाउ गरे ।
नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारका कार्यक्रम स्पष्ट र ठोसरूपमा आउन नसकेको बताए । उनले भने– प्रदेश सरकारले यसअघि प्रस्तुत गरेको अल्पकालीन बजेटबाट समेत शिक्षा नलिएर अहिलेको नीति तथा कार्यक्रम छरपष्ट रूपमा ल्याएको छ ।
सांसद रावलले नेपाल भुपरिवेष्ठित मुलुक भए झैं सात नम्बर प्रदेशलाई व्यापारिक नाकाबिहिन बनाउन खोजिएको आरोप लगाए । उनले भने– हामीले गौरीफन्टा, खक्रौला, गड्डाचौकी र टिंकर सीमा व्यापारिक नाकालाई विस्तार र व्यवस्थित बनाउनुपर्छ भनेर बारम्बार भनिरहेका छौं, तर प्रदेश सरकार यी विषयमा केही बोल्दैन ।
उनले ठूलीगाडबाट कैलाली र कञ्चनपुरमा सिंचाईंको सुविधा पुर्याउनु पर्ने, प्रदेशलाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने र नमुना कार्यक्रम ल्याउन माग गरे ।
काँग्रेसका अर्का सांसद भरतबहादुर खड्काले संघीय सरकारले सात नम्बर प्रदेश र स्थानीय तहलाई विगतका भन्दा कम बजेट दिएकोमा प्रदेश सभाबाट ‘दु:ख प्रस्ताव’ पास गर्न माग गरे ।
सांसद खड्काले अक्षर र भाषणले मात्रै पेट नभरिने भएकोले परिणाम ल्याउने गरेर नीति तथा कार्यक्रम आउनुपर्ने बताए । ‘अल्पकालीन बजेटका योजना बजारमा बेचिदै छन्’ उनले भने– आगामी कार्यक्रमबारे हाम्रो सल्लाह मात्रै नलिनुस्, सल्लाहको परिणाम पनि दिनुस् ।
आइतबारको बैठकमा भाग लिएका विपक्षी दलका सांसदहरूले अल्पकालीन बजेट कसरी कार्यान्वयन गरिएको छ ? भन्दै जानकारी पनि मागेका थिए । सत्ता र विपक्षी दलका केही सांसदले प्रदेश सरकारको बजेट कार्यन्वयन गर्ने संयन्त्र आवश्यक भएको सुझाव दिएका थिए ।
काँग्रेसका सांसद डिल्लीराज पन्तले रानाथारू जातिको सूचीकरण हुनुपर्ने माग गरे । उनले पूर्खाले आज्र्याको गर्भा दरबारदेखि नालापानी किल्लासम्मको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षका सांसद लीलाधर भट्टले सरकारले कृषि, जलस्रोत, पर्यटन, जडीबुटी र जंगलको समुचित व्यवस्थापन र परिचालन गर्दै विकास र समृद्धिको ढोका खोल्ने स्पष्ट उद्देश्य राखेको चर्चा गरे । ‘चुनावमा जनतासँग प्रतिवद्धता गरेअनुसार नै नीति तथा कार्यक्रम आएको छ’ उनले भने ।
सत्तापक्षका महेशदत्त जोशी, दुर्गाकुमारी कामी, बलदेव रेग्मी, पूर्णा जोशी, मानबहादुर धामी, मानबहादुर सुनार, हर्कबहादुर कुँवर, नन्दबहादुर साउँद, नेपालु चौधरी, लालबहादुर खड्का लगायतले नीति तथा कार्यक्रम मौलिक, दुरगामी र सबै जात, वर्ग, भूगोल तथा लिंगलाई समेट्न सफल रहेको चर्चा गरे ।
यद्यपि, सत्तापक्षीय सांसद पूर्णा जोशी, हर्कबहादुर कुँवर र मानबहादुर धामीले केही विषयमा आलोचना गर्दै नीति तथा कार्यक्रममा थप्नुपर्ने विषय प्रस्तुत गरेका थिए । सत्तापक्षका सांसदहरूले ट्रमा सेन्टर, खनिज पदार्थको उत्खनन् र गौरवका आयोजना सञ्चालन गर्नुपर्ने माग गरे ।
आइतबारको छलफलमा काँग्रेसका सांसद कर्ण मल्ल, श्यामलाल राना राजपाका मालामति राना लगायतले भाग लिएका थिए ।
सम्बन्धित समाचार