प्रदेशको राजधानी तोक्ने सम्वन्धी प्रस्ताव दर्ता
धनगढी । सात नम्बर प्रदेशमा रहेका नेपाली कांग्रेसका सांसदहरुले आइतबार प्रदेश सचिवालयमा प्रदेशको राजधानी तोक्ने सम्वन्धी प्रस्ताव दर्ता गराएका छन ।
संविधानको धारा २८८ को उपधारा २ बमोजिम सो प्रस्ताव दर्ता गरिएको हो । सो प्रस्तावको प्रस्तावकमा सांसद भरतबहादुर खड्का रहेका छन । उनको प्रस्तावलाई कर्णबहादुर मल्ल र डिल्लीराज पन्तले समर्थन गरेका छन ।
प्रस्तावमा प्रदेशको नामाकरण तथा स्थायी राजधानी तोक्नु पर्ने उल्लेख गरिएको छ । सांसद खड्काले राजधानी ऐतिहासिक, दीर्घकालिन महत्व राख्ने, सन्तुलित विकास र सामरिक दृष्टीकोणका साथै औचित्यका आधारमा तोकिनु पर्ने भन्दै प्रस्ताव दर्ता गरेका छन ।
प्रस्ताव खड्का डोटी जिल्लाबाट प्रदेश सभामा निर्बाचित सांसद हन । यस्तै समर्थक मल्ल डडेलधुरा र पन्त कैलालीबाट निर्वाचित भएका हुन । डोटीबासीहरुले तत्कालिन क्षेत्रीय सदरमुकाम दिपायल र कैलाली सहितका धेरै जिल्लाबासीले धनगढीमा राजधानी हुनु पर्ने माग राख्दै आएका छन ।
नेपालको संविधानमा सहमति वा प्रदेश सभाको दुईतिहाइ मतबाट प्रदेशको नाम र राजधानी तोक्न पर्ने ब्यवस्था रहेको छ ।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १२ जना सांसद रहेका छन । प्रदेश सभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का दुईतिहाइ बढी ३९ जना सांसद रहेका छन । यस्तै राजपाका दुई सांसद छन ।
संसद सचिवालयका सचिव बालाराम शर्माका अनुसार राजधानी सम्बन्धी सो प्रस्ताव सभामुखले कसरी छलफलमा लैजाने भन्ने टुड्डो लगाउन बाँकी रहेको छ । संसद नियमावलीमा सभामुखले यस्ता प्रस्तावमाथि छलफल गराउने÷नगराउने, समितिमा पठाउने वा संसद पठाउनेमध्ये कुनै एक विकल्प रोज्न सक्ने अधिकार छ ।