११ श्रावण २०८१, शुक्रबार

पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम– सभापति देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै बलियो अवस्थामा फर्काएर मात्र बिश्राम लिने बताएका छन् । सभापति देउवाले नेपाली काँग्रेसलाई ‘अन्तर्घातीमुक्त’ बनाउने पनि घोषणा दोहोर्‍याए ।
‘पार्टीलाई अन्तर्घातीबिहीन बनाएरै छोड्छु’ नेपाली काँग्रेस कैलालीको १३ औं महाधिवेशनपछिको पहिलो जिल्ला सम्मेलनको शुक्रबार धनगढीमा उद्घाटन गर्दै सभापति देउवाले भने– पार्टीको निर्देशन नमान्ने र अनुुशासनको पालना नगर्नेहरूमाथि कारबाही गर्छु । उनले अन्तर्घातकै कारण पछिल्लो संसदीय निर्वाचनमा देशभरी काँग्रेस कम्तिमा ३० सिटमा पराजित हुनु परेको दाबी गरे । उनले भने– किसुनजी (कृष्णप्रसाद भट्टराई) लाई मध्यावधि निर्वाचनमा हराएर शुरु भएको अन्तर्घातको रोग अब मैले निर्मुल पारेरै छोड्छु ।
सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रवादको कुरा गरेर भारतप्रति ‘लम्पसार’ हुने गरेको आरोप लगाए । ‘मैले ओली नेतृत्वको सरकार राष्ट्रवादी होइन, लम्पसारवादी मात्रै हो भन्ने गरेको छु’ पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले वर्तमान सरकार भारतसंग जीहजुरी गरेर रिझाउन तल्लीन रहेको आरोप दोहोर्‍याए ।
उनले कम्युनिष्टहरूले प्रजातन्त्रलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । उनले भने– प्रजातन्त्र कमजोर बनाउने कुनै पनि शक्तिको षडयन्त्रलाई नेपाली काँग्रेसले सफल हुन दिने छैन ।
सभापति देउवाले वर्तमान सरकारले धनगढीसंग जोडिएको गौरिफण्टा व्यापारिक नाका बन्द गराउने काम गरिरहेको दाबी गरे । ‘म प्रधानमन्त्री हुँदा गौरिफण्टा नाका खोल्न भारतीय पक्षलाई सहमत गराएको थिए’ उनले भने– तर, अहिले सो नाका बन्द गराउने षडयन्त्र भइरहेको छ । उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आफूले लडेरै भए पनि गौरिफण्टा नाकाको स्तरोन्नती गराएरै छोड्ने बताए । ‘केपी ओली नेतृत्वको सरकारले गौरिफण्टा नाकाको स्तरोन्नतीको मुद्दा छोडे पनि मैले छोड्दिन’ उनले भने– धनगढीसहित प्रदेश सातको आर्थिक समृद्धिका लागि पनि गौरिफन्टा नाकाको स्तरोन्नती तथा सञ्चालन जरुरी छ ।
उनले ओली नेतृत्वको सरकारले विगतको सरकारले बृद्धि गरेको सामाजिक सुरक्षा भत्ता खारेज गरेकोमा आक्रोस व्यक्त गरे । भने– ‘मैले विपन्न समुदाय, वर्गलाई लक्षित गरेर ६५ वर्षमा बृद्धभत्ता दिने घोषणा गरे । दीर्घ रोगीहरूका लागि पाँच हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरे, तर वर्तमान सरकारले मेरो नेतृत्वको सरकारले गरेका ती सबै निर्ण खारेज गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले वर्तमान सरकारले संघियतालाई कमजोर बनाइरहेको आरोप लगाइन् । नेतृ न्यौपानेले संघीयताले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको भए पनि वर्तमान सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा त्यसको अनुभुति गर्न नसकिएको बताईन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले अधिनायकवाद ल्याउन खोजीरहेको बताए ।
नेपाली काँग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस ७ नम्बर प्रदेश संसदिय दलका नेता रणबहादुर रावल, सचेतक टेकबहादुर रैका, नेताहरू रामजनम चौधरी, दीर्घराज भाट, मोहनसिंह राठोर, प्रदेश सांसद भरत खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीका जिल्ला उपसभापति प्रकाश वमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपकराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार