तराई, चुरेमा वैज्ञानिक वन व्यवस्थापन शुरु
धनगढी । कैलालीको तराई र चुरे क्षेत्रमा दुई विधिबाट वैज्ञानिक वन व्यवस्थापन कार्य अघि बढाइएको छ । कैलालीको जिल्लाको तराई क्षेत्रमा रक्षति वेटन वन संवद्र्धन तथा चुरे क्षेत्रमा छनोट वन संवद्र्धन प्रणाली अन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्य अघि बढाइएको कैलाली जिल्ला वन कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाएपछि यसको प्रभावकारिता सकारात्मक देखिएको कार्यालयले जनाएको छ । जिल्लाको एक साझेदारी र १९ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढेको र एक साझेदारी वनको कार्ययोजना तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
कैलालीको बाह्रवन साझेदारी वनको कार्ययोजना तथा १९ वटा सामुदायिक वनको कार्ययोजना तयार भई काम अघिबढेको र भारताल साझेदारी वनको कार्ययोजना तयारी अवस्थामा रहेको छ ।
बुधबार जिल्ला वन कार्यालय, कैलालीले वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिकहरू तथा साझेदारी वनको अवलोकन गरेको थियो । अवलोकनका क्रममा वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढेको जिल्ला वन अधिकृत नवराज काफ्लेले बताए ।
वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्सांकन, रुखको वर्गीकरण, समयावधि पुगेका पुराना रुख कटान, अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गर्ने बताइएको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रिय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गरिने छ ।
जिल्ला वन अधिकृत काफलेले वैज्ञानिक वनको अवधारणा अनुसारका वनको व्यवस्थापन गरिएमा बर्सेनि करिव २० लाख क्यूफिट काठ उत्पादन हुने बताए ।
कैलालीमा कुल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर (६२ दशमलव ६८ प्रतिशत) वन क्षेत्र रहेको छ । जसअन्तर्गत तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्ग किलोमिटर (५९ दशमलब ७० प्रतिशत) र चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर (४० दशमलव ३० प्रतिशत) वन क्षेत्र रहेको छ ।
जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागत गरी २० हजार पाँच सय हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा रहेको, अतिक्रमणले वसन्ता जैविकमार्गको कनेक्टीभिटी जोखिममा रहेको र वन क्षेत्र खण्डित भइरहेकाले वन्य जन्तुको वासस्थान विनास भइरहेको, अवैध चोरी निकासी/तस्करी र शिकार लगायतका क्रियाकलापले वन संरक्षणमा चुनौति थपिएको जिल्ला वन कार्यालयले जनाएको छ ।