विश्व वातावरण दिवस : सामुहिक प्रतिवद्धता–प्लास्टिक प्रदूषण निर्मुल पार्छौ
धनगढी । प्लास्टिक प्रदूषण निर्मुल पार्ने प्रतिवद्धताका साथ मंगलबार धनगढीसहित देशभरी विभिन्न रचनात्मक कार्यक्रमसहित ४५ औं विश्व वातावरण दिवस मनाइएको छ ।
यस वर्ष ‘प्लास्टिक प्रदूषण निर्मूल पारौं, सकेसम्म पुन: प्रयोग, नसके बहिष्कार गरौं’ भन्ने नाराका विश्व वातावरण दिवस मनाइएको छ ।
धनगढीमा दिवसका अवसरमा जनचेतनामूलक र्याली, प्रतिवद्धतापत्रमा हस्ताक्षर, सरसफाई, वृक्षारोपण, लगायतका कार्यक्रम भए ।
प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, धनगढी उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाहरूको सहकार्यमा बृहत र्याली निकालियो । धनगढीको ट्राफिक चौराहदेखि शुरु भएको र्याली दशरथ पार्क पुगेर समापन भएको थियो ।
वातावरण दिवसको अवसरमा आयोजित प्रतिवद्धता हस्ताक्षर कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वडाध्यक्ष, वडा सदस्य, सरकारी उच्चाधिकारी, विभिन्न संघस्ंस्थाका प्रतिनिधि लगायतले नगरलाई प्लाष्टिक रहित बनाउने प्रतिवद्धता सहित हस्ताक्षर गरे ।
प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै मन्त्री भट्टले मन्त्रालयले समग्र प्रदेशलाई नै प्लाष्टिक मुक्त बनाउने योजना तर्जुमा गरिरहेको बताइन् ।
उनले समग्र प्रदेशलाई प्लास्टिकमुक्त बनाउने सरकारको योजना र प्रयासमा सहयोग गर्न सबैमा आह्वान गरिन् । मन्त्री भट्टले आम नागरिकलाई प्लास्टिकको प्रयोग सकेसम्म त्याग्न आग्रह गरिन् । उनले भनिन्– “तपाईंहरूलाई प्लास्टिकको प्रयोगको प्रयोग त्याग्न केही असहज लाग्ला, तर यसको विकल्पमा अन्य सामग्री प्रयोग गर्नुहोस्, अरूलाई पनि गर्न लगाउनुहोस् ।”
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले आफ्नो कार्यकालभित्र धनगढी उपमहानगरलाई प्लाष्टिक मुक्त शहर बनाउने प्रतिबद्धता गरे । उनले फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालय, स्थानीय तह लगायत संघसंस्थाले लागेर मात्रै नहुने भएकाले यसका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्लाष्टिकका झोलाको अत्यधिक प्रयोगका कारण वातावरण प्रदूषणमा बृद्धिका साथै खोलानालाको निकासमा समेत अवरोध आइरहेको चर्चा गरियो ।
सहभागीहरूले प्लास्टिकको अत्यधिक प्रयोग तथा जहातही जथाभावी फोहोर फाल्ने प्रवृत्तिले नगर कुरूप बनेको गुनासो गरे । जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने नियम बनाउन पनि सो अवसरमा माग गरियो ।
वातावरण दिवसका अवसरमा धनगढीको पार्कचोकदेखि एयरक्राफ्ट म्युजियमसम्म सरसफाई पनि गरिएको थियो ।
त्यस्तै, धनगढीस्थित वेस्टर्न क्रिस्टल एकेडेमीका विद्यार्थी तथा शिक्षकहरूले शिवपुरीधाममा सरसफाई गरेका छन् ।
उता, कञ्चनपुरमा विश्व वातावरण दिवसका अवसरमा स्मारक क्षेत्र र बैजनाथ सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । भीमदत्त नगरपालिका, जिल्ला वन कार्यालय र बैजनाथ सामुदायिक वनको आयोजनामा स्मारक क्षेत्र तथा सामुदायिक वनमा बृहत वृक्षारोपण भएको जनाइएको छ ।
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा, वडा नम्बर ३ का अध्यक्ष रामबहादुर जप्रेल, उच्च सरकारी अधिकारी तथा सुरक्षा अधिकारी, राजनीतिककर्मी, संरक्षणकर्मी लगायतको सहभागिता रहेको थियो ।
वृक्षारोपणपछि बैजनाथ सामुदायिक वन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले दिगो विकासको अवधारणा सहित वातावरणमैत्री, बालमैत्री, महिलामैत्री, समावेशीता, गरीबी न्यूनीकरण र विपद् व्यवस्थापनलाई समावेश गरी वस्ती स्तरबाट योजना बनाइने बताए ।
‘अहिले योजना छनौट भइरहेका छ, टोल वस्तीका ती योजनालाई दिगो विकासका अवधारणका आधारमा छनौट गरिरहेका छौं’ नगर प्रमुख विष्टले भने– “योजना बनाउँदा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएका छौं ।”
उनले वन वातावरण संरक्षणका लागि दुई लाख ५० हजार विरुवाको नर्सरी निर्माण गरिएको जानकारी दिँदै प्रत्येक व्यक्तिले कम्तिमा एउटा रुख रोप्न आग्रह गरे ।
कार्यक्रम सहायक वन अधिकृत जीवछ यादवले सञ्चालन गरेका थिए । वृक्षारोपणका क्रममा नगर प्रमुख विष्ट सहितले बाराकुण्डाको ताल पुन:भरण कार्यक्रमको समेत अनुगमन गरेका थिए ।
बाराकुण्डामा वृक्षारोपण अघि महेन्द्रनगर बजारमा वृक्षारोपण कार्यक्रम गरिएको छ । स्मारक क्षेत्रमा नगर प्रमुख विष्टले विरुवा लगाएर कार्यक्रम उद्घाटन गरे । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय वातावरण संकायले नगरपालिकासित समन्वय गरी कार्यक्रम गरेको छ । बजारमा प्रभातफेरी गरी स्मारकमा वृक्षारोपण गरिएको छ ।