२ माघ २०८१, बुधबार

एकताको सन्देश दिने भेलामा विद्रोहको चेतावनी



धनगढी । दुई ठूला कम्यूनिष्ट पार्टीको एकता भएपछि एकताको सन्देश दिन पहिलो पटक धनगढीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भेला भएको छ ।
सोमबार भएको भेलामा वोल्दै प्रमुख अथिति रहेका स्थायी समितिका सदस्य भीमबहादुर रावलले पार्टी एकता भएकोमा निक्कै खुसी व्यक्त गरे । रावलले जनता, कार्यकर्ता दवाव र दुई अध्यक्षको चलाखीले पार्टी एकता सम्भव भएको बताए ।
उनले विगतमा दुई पार्टी हुँदा भएका विवाद र मनमुटावलाई इतिहासमा सीमित गर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीको विधान र देशको संविधानमा सामाजिक न्याय, विभेद तथा शोषणको अन्त्य, समानुपातिक र समानताका आधारमा जिम्मेवारी दिइने भनिएको छ, तर सरकार तथा पार्टी नेतृत्व पंक्तिमा व्यवहारमा सात नम्बरको उचित प्रतिनीधित्व हुन नसकेकोमा भने नेता रावलले असन्तुष्टी जाहेर गरे ।
देशभरीमै प्रदेश र जिल्ला स्तरमा पहिलो पटक भएको भेला भएको दाबी गरिएको कार्यक्रममा सहभागी नेताहरुले पार्टी एकताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको ढोका खोलेको चर्चा गरे ।
रावलले सात नम्बर प्रदेशको जलस्रोत र जडीवुटीको उचित प्रयोग गरेर समृद्धी ल्याउन प्रदेश र केन्द्र सरकारलाई आव्हान गरे । केन्द्रदेखि प्रदेशसम्म जताततै कम्यूनिष्टको बहुमत भएकोले चुनावी घोषणापत्र अनुसार काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।
कार्यक्रमका विशेष अथिति स्थायी समितिका अर्का सदस्य लेखराज भट्टले सात नम्बरमाथि फेरि पनि विभेद जारी रहिरह्यो भने विद्रोह हुनसक्ने चेतावनी दिए । पार्टी एकतापछि कार्यकर्ता व्यवस्थापन चुनौतीपूर्ण छ उनले भने नयाँ पार्टी र नयाँ सोच बनाउनका लागि पुराना पार्टीहरु भत्काइएकोमा कार्यकर्ताले ध्यान दिनु जरुरी छ ।
सो पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले न्याय र परिवर्तनको गति कसैले रोक्न नसक्ने र सही उद्देश्य र लक्ष्य भएकाले विशाल कम्यूनिष्ट पार्टी बनेको चर्चा गरे ।
तत्कालिन नेकपा (एमाले) कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट र तत्कालिन माओबादी केन्द्रका कैलाली अध्यक्ष लालबहादुर सोडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार