२१ कार्तिक २०८१, बुधबार

स्वास्थ्य प्रयोगशाला शिविर



धनगढी । कैलालीको धनगढीमा सञ्चालित चार दिने स्वास्थ्य प्रयोगशाला शिविर आइतबार समापन भएको भएको छ ।
२५ औं विश्व थाइराइड दिवसको अवसरमा धनगढी डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टरले गत १० गतेदेखि शिविर सञ्चालन गरेको थियो ।
शिविरबाट पाँच सय बढी व्यक्तिको रगत परीक्षण गरिएको जनाइएको छ । प्रयोगशालामै सञ्चालन भएको शिविरमा दुई सय २३ महिला र दुई सय ७० पुरुष गरी चार सय ९३ जनाको सुगर परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकोमध्ये ३४ जनामा समस्या देखिएको रिसर्च सेन्टरका प्रयोगशाला प्रमुख रोशनी उपाध्यायले बताइन् ।
त्यस्तै, एक सय ९४ महिला र एक सय ९१ पुरुष गरी तीन सय ८५ जनाले किडनी जाँच गराएकोमा दुई प्रतिशतमा समस्या देखिएको थियो ।
एक सय १८ महिला र एक सय २८ पुरुष गरी दुई सय ४६ जनाले होल बडी जाँच गराएकोमा ३६ प्रतिशतमा समस्या देखिएको उनले बताइन् ।
उनले दुई सय सात महिला र ९८ पुरुष गरी तीन सय पाँच जनाले थाइराईड जाँच गराएकोमा २० प्रतिशतमा समस्या देखिएको बताइन् ।
उनले थाइराईड विशेष गरी पुरुषमा भन्दा महिलामा बढि देखा पर्ने गरेको बताइन् । उनका अनुसार थाइराईड रोग नभई घाटीमा हुने एक प्रकारको ग्रन्थी हो त्यसमा समस्या भयो भने थाइराईडको समस्या हुन्छ । यसको समस्या भएमा महिनावरीमा अनियमितता, प्रश्वास फेर्न गाह्रो हुने, सुनिने, दुब्लाउने, मोटाउने, पसिना आउने, गर्मी हुने लगायतका लक्षणहरू देखा पर्छन् ।
सेन्टरका अध्यक्ष माधवप्रसाद जोशीले संस्थाले चार दिनभरी सुगर परीक्षण नि:शुल्क, थाइराईडमा ७५ प्रतिशत छुट र अन्यमा ५० प्रतिशत छुट दिएको बताए । उनले संस्थाले विभिन्न नयाँ नयाँ प्रविधिलाई भित्र्याई बाहिर जाने समस्यालाई रोक्ने र स्थानीयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना जगाउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार