बिना इजाजत सञ्चालनमा रहेका बीमा कम्पनीलाई सरकारले कारवाही गर्ने
धनगढी । आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रदेश ७ मा रहेका बिना इजाजत सञ्चालनमा रहेका बीमा कम्पनीलाई सरकारले कारवाही गर्ने बताएका छन् ।
मन्त्री वोहराले आज जीवन बीमा र निरजीवन बीमाका प्रबन्धकहरुसँगको अन्तरक्रिया कार्यक्रममा भारतीय कुनै पनि बीमा कम्पनीमा बीमा नगर्न आव्हान गरे ।
मन्त्री वोहराले बीमा कम्पनीहरू अब केन्द्र र शहर मुखी मात्र नभई गाउँगाउँमा जान अनुरोध गरे । प्रदेशको बीमाको अवस्थाको बारेमा छलफलका लागि गरिएको अन्तरक्रिया कार्यक्रम गरिएको हो । मन्त्री बोहराले प्रदेश सरकारले अबको नीति तथा कार्यक्रममा सरकारले बीमा युक्त प्रदेश, जोखिम मुक्त जनताको नारा सरकारले ल्याउने बताए ।
कार्यक्रममा शिखर इन्स्योरेन्सका धनगढी प्रबन्धक डिल्लीराज शर्माले बीमा समितिको प्रदेश स्तरीय कार्यालय आवश्यक रहेको बताए । प्रबन्धक शर्माले अहिले प्रदेश सरकारले राइट म्यान राइट पिलेस पाएको हुँदा प्रदेशको आर्थिक विकासमा मन्त्रीबाट जनताले ठूलो आश रहेको बताए ।
त्यस्तै, सूर्यलाइफ इन्स्योरेन्सका प्रबन्धक वीरसिंह महराले अब प्रदेश सरकारले स्थानीय तहमा बीमा अनिवार्य गराउन अनुरोध गरे । उनले सरकारले वैदेशिक मजदूरको बीमा गरेको तर, स्वदेशी कामदारहरूको बीमा अनिवार्य गर्न नसकेको गुनासो राखे ।
एनएलजी इन्स्योरेन्स धनगढीका प्रबन्धक सुनिल क्षेष्ठले अहिलेसम्म सरकारी कार्यालयहरूको नै बीमा हुन नसकेकोले अब प्रदेश सरकारले सरकारी कार्यालयको बीमा सुरु गर्न अनुरोध गरे ।
प्रदेश नम्बर ७ मा १६ निरजीवन र १८ जीवन बीमा गरी ३४ ओटा बीमा कम्पनी प्रदेशमा सञ्चालनमा रहेका छन् ।