६ माघ २०८१, आईतवार

सरकारी कार्यालय परिसरमै सूर्तीजन्य पदार्थ



धनगढी । तीन तले भवन । पहिलो र दोस्रो तलामा घोडाघोडी नगरपालिकाको कार्यालय र तेस्रो तलामा ईलाका प्रशासन कार्यालय । नगरपालिकाको कार्यालय रहेको तल्लो तलाको अगाडिका कोठामा एस के फर्निचर उद्योग, अनुराग फोटोकपी सेन्टर र लक्ष्मी नास्ता पसल एण्ड रेष्टुरेण्ट रहेको छ । नगरपालिकाको कार्यालयकै मातहातमा रहेको सो नास्ता पसलबाट मदिरा, चुरोट, गुट्खा लगायतको विक्री वितरण भइरहेको छ । पसलले विक्रीवितरण गरेका मदिराका खाली बोतलहरू कार्यालयको पछाडि रहेको खाली ठाउँमा राखिएको छ । नगरपालिकाले विभिन्न स्थानमा ‘धुम्रपान निषेधित क्षेत्र’ का सूचना बोर्ड राखेको छ ।
घोडाघोडी नगरपालिकामा मात्र होइन कैलालीका अधिकांस स्थानीय तहका कार्यालय परिसर तथा नजिक यस्तै दृश्य देखिन्छन् । लम्कीचुहा नगरपालिकाले भाडामा लिएको नयाँ भवनमा पनि यस्तै दृष्य देखिन्छ । सो भवनको माथिल्लो तहमा नगरपालिकाको कार्यालय छ भने तल्लो तलामा नास्ता पसल रहेको छ ।
घोडाघोडी नगरपालिकाका प्रशासकीय अधिकृत किर्तनराज पौडेल भन्छन्– ‘हामीले कार्यालयभित्र धुम्रपान निषेधित क्षेत्र घोषणा गरेका छौं, कार्यालयभित्र कसैले पनि धुम्रपान गर्न लागेको पाएमा सम्झाउने, बुझाउने पनि गरिरहेका छौं ।’ कार्यालयभित्रै रहेको नास्ता पसलमा धुम्रपान तथा मदिरा विक्रीवितरण भइरहन्छ नि ? भन्ने यस अनुमोदन दैनिकको जिज्ञासामा प्रशासकीय अधिकृत पौडेलले भने– ‘हामी पनि भाडामा बसेका छौं, घरधनीले सो पसल सञ्चालनका लागि अनुमति दिएकाले हामीले नियन्त्रण गर्न सक्ने अवस्था छैन ।’ उनका अनुसार नगरपालिका आफ्नै भवनमा सञ्चालन भए यी प्रावधान पूर्ण रूपमा लागू हुने छ । उनले नगरपालिकाले अहिले भवनका लागि जग्गाको खोजी गरिरहेको बताए ।
स्थानीय तहमा मात्र होइन जिल्लामा भाडामा सञ्चालनमा रहेका केही वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थामा पनि यो प्रवृति कायम रहेको छ ।

कार्यालय परिषरमै राखिएका मदिराका खाली बोतल । तस्बिर/शेरबहादुर ऐर

सूर्ती नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ विक्रीवितरण, सेवन लगायतमा रोक लगाएको छ । यदि त्यस्तो गरिरहेको पाइएमा एक सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ ।
ऐनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको समिति बनाइएको छ ।
नियन्त्रण तथा नियमनकारी निकाय ईलाका प्रशासन कार्यालय घोडाघोडीको भवनमै यसरी सूर्तीजन्य पदार्थ, मदिरा विक्रीवितरण भइरहँदा समेत समितिले कुनै अनुगमन, पत्र पठाएको भने छैन् । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले ऐनलाई प्रभावकारी बनाउन समिति बनाइएपनि समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए । उनका अनुसार स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन र अहिलेको नयाँ संरचनाले काम गर्न कठिनाई भएको बताए । उनले विगतको तुलनामा खुलेआम सूर्तीजन्य पदार्थ सेवन तथा विक्रीवितरण गर्ने चलनमा सुधार हुँदै गएको बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ऐनको प्रभावकारी कार्यान्वयनका लागि समितिले प्रयास गरिरहेको बताए । ‘अहिले सार्वजनिक स्थलमा धुम्रपान तथा मध्यपालनको सेवनमा कमी आउँदै गरेको छ’ उनले भने– ‘समितिले धेरै अनुगमन गर्न नसक्दा अझै केही समस्याहरू यथावत रहेको छ ।’ अझै केही स्थानीय तह तथा सरकारी कार्यालयमा सूर्तीजन्य पदार्थ विक्रीवितरण भइरहेको देखिन्छ नी भन्ने यस दैनिकको जिज्ञासाको जावफ दिँदै उनले भने– ‘कानुनको पालना सबैले गर्नुपर्छ, यदि त्यसो भएको कतै छ भने तुरुन्त अनुगमन गरेर सुधार गर्न लगाइने छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार