एमाले–माओवादीबीच एकता : केन्द्रमा को–को परे ?
धनगढी । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता घोषणा भएर निर्माण भएको नेपाल कम्यूनिष्ट पार्टीको शक्तिशाली मानिएको स्थायी कमिटीमा सात नम्बर प्रदेशबाट दुई जना नेता मात्रै समेटिएका छन् । पार्टीको हाइकमाण्ड अर्थात् केन्द्रीय सचिवालयमा भने प्रदेश ७ बाट कोही पनि परेका छैनन् ।
नवगठित नेकपाको हाईकमाण्डपछिको शक्तिशाली स्थायी कमिटीमा विघठित एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल र विघठित माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्ट सदस्य बनाइएका छन् ।
त्यस्तै, बिघठित एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, गरिमा शाह, लालबहादुर थापा, गणेश ठगुन्ना, महेश्वर पाठक, रामकुमार ज्ञवाली, भैरवबहादुर सिंह, प्रकाशबहादुर शाह, विक्रमबहादुर शाही, पुरनसिंह दयाल, झपटबहादुर रावल, निरुदेवी जैरु, प्रेम आलेमगर, निरुदेवी पाल, नारदमुनी रानाले नवगठित नेकपामा पनि सोही पदमा निरन्तरता पाएका छन । माओवादी केन्द्रबाट भने खगराज भट्ट मात्रै केन्द्रीय सदस्यका रूपमा दोहरिएका छन् ।
केही दिनमै बस्ने नेकपाको केन्द्रीय कमिटीको बैठकले तत्कालिन एमालेबाट ४३ जना र तत्कालिन माओवादी केन्द्रबाट एक सय १५ जना केन्द्रीय सदस्य थप्ने बताइएको छ ।
सम्बन्धित समाचार