१५ पुष २०८१, सोमबार

मदन–आश्रितका हत्यारा पत्ता लगाउनुपर्ने माग



धनगढी । नेकपा (एमाले) कैलालीले चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा दिवंगत भएका मदन भण्डारी र जीवराज आश्रितको २५ औं मदन आश्रित स्मृति दिवस मनाएको छ ।
बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरेर मदन–आश्रित स्मृति दिवस मनाइएको हो । जिल्ला अध्यक्ष तथा सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीको अध्यक्षतामा र केन्द्रीय सल्लाहकार समितिका सदस्य हनुमान चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, वन वातावरण उघोग तथा पर्यटनमन्त्री माया भट्ट, एमालेको प्रदेश अनुशासन समितिका स्ांयोजक डिल्लीराज भट्ट, नेकपा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य देवकी मल्ल लगायतले मदन–आश्रितको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य राजेश भण्डारीले एमाले पटकपटक सत्तामा रहदा पनि मदन–आश्रितको हत्यारा पत्ता नलाग्नु दुःखद र लाजमर्दो विषय भएको टिप्पणी गरेका थिए । उनले प्रतिपक्षमा रहँदा हत्यारा पत्ता लगाउ भनेर आन्दोलन गर्ने सत्तामा हुँदा चुप्प लाग्नु राम्रो काम होइन भने ।
बुधबार बसेको एमाले कैलालीको बैठकमा पनि हत्यारा पत्ता लगाउने बिषयमा केन्द्रीय सरकारलाई दवाव दिनु पर्ने विषयमा छलफल भएको बताइएको छ । स्मृति सभामा कार्यक्रमको सञ्चालन जिल्ला सचिव रणबहादुर चन्द र स्वागत उपाध्यक्ष रतन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार