५ जेष्ठ २०८१, शनिबार

प्रसूति स्वास्थ्यसम्बन्धी अनुभव आदानप्रदान



धनगढी । स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा शनिबार धनगढीमा प्रसूति स्वास्थ्य कार्यक्रम सम्बन्धी स्थानीय तहसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रम भएको छ ।
पिएसआईको साझेदारी र गैरुवा ग्रामीण जागरण संघको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा लिएको दिगो लक्ष्य प्राप्तीमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले नतिजामुखी कार्यक्रममा ध्यान दिन आग्रह गरे । ‘बरु कार्यक्रम थोरै गरौं, तर नतिजामुखी बनाउँ’ उनले– ‘अहिले धेरै संघसंस्थाले एउटै उद्देश्य लिएर काम गरिरहेको पाइएको छ, यसले राम्रो उपलब्धी पाउन सकिएको छैन ।’
गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले अझै पनि ग्रामीण क्षेत्रका महिलाले राम्रो स्वास्थ्य सेवा पाउन नसकेको चर्चा गरिन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले अहिले स्थानीय सरकारले सामाजिक उत्तरदायित्वका कार्यक्रममा ध्यान नदिएको गुनासो गरे । ‘स्थानीय जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि सडक, कल्र्भट लगायतमा मात्र ध्यान दिएका छन्’ उनले भने– ‘जबसम्म स्वास्थ्य, शिक्षा क्षेत्रको सुधार हुँदैन तबसम्म विकासको परिकल्पना गर्न सकिदैन् ।’
उनले नेपाल सरकारका स्वास्थ्य कार्यक्रम स्थानीय तहमा गइसकेकाले दिइएका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे । ‘हामीले विगतमा स्वास्थ्यमा धेरै सुधार ल्याएका छौं, यसमा कुनै पनि कारणले विफल बनाउने काम नहोस्’ उनले भने ।
गैरुवा ग्रामीण संघका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा प्रजनन स्वास्थ्यको वर्तमान अवस्था र भावी लक्ष्यबारे सूर्यबहादुर विष्ट, पिएसआईका कार्यक्रमबारे क्षेत्रीय म्यानेजर सन्तोष महतो र गैरुवा ग्रामीण संघका बारेमा यदुकुमार क्षेत्रीले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला कार्यक्रम संयोजक महेन्द्र बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार