६ माघ २०८१, आईतवार

कैलाली जिल्ला खुला दिसामुक्त हुँदै



धनगढी । राष्ट्रिय सरसफाई रणनीति गुरुयोजना–२०६८ ले कैलाली जिल्लालाई २०७३ सालको पुस मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लियो । सो समयमा कुल घरधुरीमध्ये १८ प्रतिशतमा शौचालय निर्माण हुन सकेनन् ।
२०७३ साल पुस मसान्तभित्र खुला दिसामुक्त घोषणाको लक्ष्य प्राप्त गर्न हुन नसकेपछि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले नयाँ लक्ष्य लियो–२०७४ असार मसान्त । तर, सो अवधिमा पनि जिल्लाको कुल घरधुरीमध्ये अझैं चार प्रतिशतमा शौचालय निर्माण हुन सकेन ।
समितिले पुन: नयाँ मिति तोक्यो–२०७४ पुस मसान्त । तर, त्यो मिति पनि विफल भयो । अनि फागुन मसान्तको नयाँ घोषणा मिति तय गरियो । जिल्लाका सबै घरधुरीमा शौचालय त निर्माण भए, तर संघीय संरचनाका कारण घोषणा सम्भव भएन । बल्ल अहिले कैलालीलाई खुला दिसामुक्त घोषणा गर्ने साइत जुरेको छ । भोलि (बैशाख ३० गते आइतबार) धनगढीमा एक भव्य समारोहबीच कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिदैछ । यससँगै कैलाली देशको ५१ औं जिल्ला तथा प्रदेश नम्बर ७ को अन्तिम जिल्लाका रूपमा खुला दिसामुक्त घोषणा हुँदैछ ।
चार पटक घोषणाको लक्ष्य लिएको समितिले अन्तत: पाँचौं पटकको प्रयासमा जिल्लालाई खुला दिसामुक्त घोषणा गराउन सफल भएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार त्यतिबेला कैलालीको कुल घरधुरीको ४८ दशमलव ६६ प्रतिशत घरधुरीमा मात्र शौचालय निर्माण भएको थियो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले दिएको प्रतिवेदन अनुसार २०७४ सालको पुस मसान्तभित्र एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएको थियो ।
२०६८ सालमा सरसफाई गुरुयोजना लागू भएपछि कैलालीले २०६९ सालमा जिल्ला स्तरीय सरसफाई गुरुयोजना तयार पारि २०७३ सालभित्रै घोषणा गर्ने लक्ष्य अनुरूप काम अघि बढाएको थियो ।
जिल्लामा साविकको पवेरा गाविसको छोटी पलिया गाउँलाई २०६३ सालमा नै खुला दिसामुक्त वस्ती घोषणा गरिएको थियो । २०६९ साल चैत महिनामा साविकको पवेरा गाविसलाई पहिलो खुला दिसामुक्त गाविस घोषणा गरिएको डिभिजन कार्यालयले दिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार कैलारी गाउँपालिका वडा नम्बर ५ (साविकको पवेरा गाविस) पहिलो खुला दिसामुक्त घोषणा भए पनि जिल्लाको सो गाउँपालिका अन्तिममा घोषणा भएको थियो ।
एक उपमहानगरपालिका, ६ नगरपालिका र छ गाउँपालिका रहेको कैलाली जिल्लामा आफ्नो चर्पी भएका कुल घरधुरीमध्ये ९८ प्रतिशत र दुई प्रतिशतले अझै साझेदारीमा चर्पी प्रयोग गरिरहेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख नारायणप्रसाद काफ्लेले विगतमा खुला स्थानमा दिसापिसाब गर्दै आएकोमा अहिले क्रमिक रूपमा सुधार हुँदै आएको बताए । ‘पहिला मानिसहरू शौचालयको प्रयोग गर्दनथे, खुला स्थानमा दिसापिसाब गर्थे’ उनले भने– ‘अहिले विपन्न घरधुरीमा शौचालय नभए पनि छिमेकीको शौचालय प्रयोग गरिरहेको पाइएको छ । उनले अहिले जिल्लाका कुनै पनि सडकमा प्राय: खुला रूपमा दिसा देखिने अवस्था नरहेको बताए । उनले जिल्लालाई खुला दिसामुक्त घोषणा गराउन सरकारी तथा गैरसरकारी संस्थाहरूको योगदान महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार