नगरभित्र चोरीका घटनामा बृद्धि
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयबाट अघिल्लो साता सामान चोरी भयो । गत शुक्रबार राति वडा नम्बर १०, ९ र १२ को संयुक्त वडा कार्यालयको ढोका फोडेर चोर समूहले कम्प्युटर, ल्यापटप, इन्भर्टर ब्याट्री लगायतका सामग्री चोरी गरेका थिए । चोरीको घटना भएको एक साता पुग्न लाग्यो, तर प्रहरीले अहिलेसम्म घटनामा संलग्न चोरलाई पक्राउ गर्न सकेको छैन, न त चोरी भएका सामान नै बरामद गरेको छ ।
उपमहानगरपालिकाका विभिन्न स्थानमा चोरीका घटनामा निरन्तर बृद्धि भइरहेका छन् । नगरका विभिन्न स्थानमा पछिल्ला केही सातायता मोटरसाईकल, साईकल, पानी तान्ने मोटर, हेन्डपम्प लगायतका सामान चोरी हुने क्रम बढेको छ ।
नगरका बजार तथा आवासीय क्षेत्रमा मात्रै नभएर अस्पतालभित्रै पनि चोरीका घटना भएका छन् । गत चैत महिनामा सेती अञ्चल अस्पताल भित्रै एक महिलाको सुनको माला चोरी भएको थियो । तर, चोरको अझैं पत्ता लाग्न सकेको छैन । अञ्चल अस्पतालमा जडान गरिएको सिसिटिभीको सहयोगबाट चोरको पहिचान गर्न खोज्दा सिसिटिभी क्यामेरा नै खराव भएको अस्पतालको सुरक्षामा खटिएका प्रहरी हवल्दार बलबहादुर कठायतले बताए ।
दुई महिनादेखि विभिन्न स्थानमा चोरीका घटनामा बृद्धि भए पनि नियन्त्रणका लागि प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । नगरमा रातिको समयमा प्रहरी गस्ती टोली कम भएका कारण पनि चोरी तथा अन्य अवाञ्छित घटनामा बृद्धि भइरहेको स्थानीयको आरोप छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयले प्रहरीले चोरी, तस्करी नियन्त्रण गर्नुभन्दा पनि असुलीमा बढी ध्यान दिने गरेको आरोप लगाए ।
स्थानीय भरत बोहराले चोरी तस्करी नियन्त्रणबारे प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि ध्यान नदिएको गुनसो गरे ।
धनगढीको तारानगर, हसनपुर, लक्ष्मीनगर, हसनपुरका भित्री भाग, शिवनगर, बोराडाँडी, बिशालनगर लगायतका स्थानमा रात्रिको समयमा प्रहरी गस्तीको अभाव रहेको छ । कैलालीका प्रहरी प्रमुख (एसपी) विनोद घिमिरेले प्रहरी जनशक्तिको कमीका कारण सबै ठाउँमा प्रहरी गस्ती टोली परिचालन गर्न नसकिएको बताए । उनले भने– ‘जनशक्तिको कमी छ । भिआईपी, मन्त्रीहरूको स्कर्टिङ तथा अन्य ठाउँमा जानुपर्ने प्रहरीको बाध्यता छ ।’
जिल्ला प्रहरी प्रमुख घिमिरेले चोरीका घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै चोरहरू पक्राउ हुने बताए ।
गत निर्वाचनका बेला जनशक्तिको कमी भएको भन्दै प्रहरीले धनगढी नगर क्षेत्रमा एकैपटक मोवाईल गस्ती घटाएको थियो । निर्वाचन सकिएको लामो समय भइसक्दा पनि प्रहरी गस्ती बढाइएको छैन ।