भौतिक संरचना अभावका कारण संसद सञ्चालनमा कठिनाई
धनगढी । प्रदेश नम्बर ७ को संसद सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । पर्याप्त भौतिक संरचना नहुँदा सचिवालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले बताए । उनका अनुुसार भौतिक संरचना नहुँदा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय तथा तिनका प्रमुख सचेतकको कार्यकक्ष र विभिन्न संसदीय समितिका कार्यकक्ष स्थापना गर्न सकिएको छैन ।
प्रदेश संसद सञ्चालनका लागि ५२ वटा कोठा आवश्यक भएकोमा अहिले नौ वटा कोठामा सचिवालयको काम सञ्चालन हुँदै आएको छ । उपसचिव पाण्डेले संसदका लागि आवश्यक कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्री तथा सम्वद्ध मन्त्रीसँग माग गरिएकोमा अझै उपलब्ध नभएको बताए । कोठा अभावले अहिले दुई जना उपसचिवले एउटै कोठाबाट काम गरिराख्नु परेको उनले बताए ।
त्यस्तै, केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानुन उपसचिव र दुई शाखा अधिकृतसहित छ जना कर्मचारी अझै आइपुगेका छैनन् । सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि एक सय ३२ जना कर्मचारी आवश्यक रहेको सचिवालयका उपसचिव पाण्डेले बताए ।
त्यस्तै, प्रदेश संसद सचिवालयका लागि अझैं नौ वटा गाडी अपुग छन् । विभिन्न संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई आवश्यक गाडी उपलब्ध हुन नसकेको उनले बताए । अहिले सभामुख, उपसभामुख र सचिवालयका सचिवका लागि मात्र गाडी उपलब्ध गराइएको छ ।