६ माघ २०८१, आईतवार

कर्णाली यातायातका अध्यक्षसहित पक्राउ



धनगढी । कैलाली प्रहरीले कर्णाली रिभर साईड यातायात व्यावसायी संघका अध्यक्षसहित छ जनालाई शुक्रबार पक्राउ गरेको छ ।
सिन्डिकेटको पक्षपोषण गर्दै सवारी साधन नचलाउने यातायात व्यवसायी संघका पदाधिकारीलाई पक्राउ गर्न गृह मन्त्रालयको कडा निर्देशन आएपछि कैलाली प्रहरीले कर्णाली यातायातका अध्यक्ष धिरज शाहीसहित छ जनालाई पक्राउ गरेको हो ।
उनलाई कर्णाली चिसापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता वीरबहादुर बुढामगरका अनुसार पक्राउ पर्नेमा कर्णाली यातायातका महासचिव गणेशराज ओली, कोषाध्यक्ष जैरु बुढा, सदस्य ज्ञानु भण्डारी, कृष्णप्रसाद भट्टराई र टीकापुर काउण्टर ईन्चार्ज हिक्मतबहादुर खडका रहेका छन् ।
प्रदेश नम्बर ७ को कञ्चनपुरमा पवनदुत यातायात, महाकाली यातायात, कैलालीमा सुदूरपश्चिम यातायात, कर्णाली रिभरसाईड यातायात, मालिका यातायात, डडेल्धुरामा उग्रतारा यातायात र डोटीमा शैलेश्वरी यातायात गरी दर्जनौ सार्वजनिक यातायात समितिहरू रहेका छन् ।
कैलाली प्रहरी प्रवक्ता बुढामगरले पक्राउ परेकाहरू विरुद्ध अतिआवश्यकीय सेवा सञ्चालन ऐन २०१४ बमोजिम मुद्दा चलाइने बताए । यस ऐनअनुसार दुई सयदेखि एक हजार रुपैयाँ जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।

अन्यको मोबाईल स्विच अफ
प्रदेशका नौ वटै जिल्ला प्रहरी कार्यालयले यातायात व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि व्यवसायीहरू मोबाईल अफ गरेर लुकेर बसेका छन् । यातायात व्यावसायी महासंघ ७ नम्बर प्रदेशका संयोजक तथा संयुक्त आन्दोलन आन्दोलन मुल समितिका संयोजक टेकराज जोशी, सुदूरपश्चिम यातायात व्यावसायी समितिका अध्यक्ष पदमराज सापकोटा लगायतका यातायात व्यवसायीका पदाधिकारी मोवाईल अफ छन् ।
प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बुढामगरले यातायात व्यावसायीको खोजी कार्य जारी राखेको बताए । मावाईल अफ हुँदा खोजी गर्न समस्या भइरहेको प्रनाउ बुढामगरले जानकारी दिए ।
कैलालीसहित देशभरी एकै साथ सवारी साधन ग्यारेजमा थन्किदा जनजीवन प्रभावित भएको छ । जिल्लामा छोटा दूरीका यातायातहरू सञ्चालन भएपनि लामो दूरीका सवारी साधनहरू सञ्चालन नहुँदा लामो दूरीका यात्रुहरू अल्पत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार