१० श्रावण २०८१, बिहीबार

दृष्टिबिहीन विद्यार्थीहरूको गुनासो– हाम्रोबारे सरकार उदासिन



धनगढी । ‘सरकारले सबैलाई शिक्षाको पहुँच र प्रत्येक विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गरेको छ, तर हामी दृष्टिबिहीनहरूका लागि भने सरकारले हामीप्रति खासै चासो दिएको हामीले अनुभव गरेका छैनौं’ यो गुनासो हो दृष्टिबिहीन विद्यार्थीहरूको ।
कैलालीसहित देशभरी विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान २०७५ सञ्चालन भइरहँदा ७ नम्बर प्रदेशका दृष्टिबिहीन विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन भने दुर्गम जिल्लामा विद्यालय भर्ना अभियान प्रभावकारी बन्न सकेको छैन ।
कैलालीको पञ्चोदय माध्यामिक विद्यालयमा दृष्टिबिहीन विद्यार्थीहरूलाई अध्यापन गराइरहेकी शिक्षिका रूपा राईले भनिन्– ‘न त राज्यले दृष्टिबिहीन विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा ब्रेललिपिमा पुस्तक उपलब्ध गराउन सकेको छ, न विज्ञान र प्रविधिमा पहुँच बनाइएको छ ।’
शिक्षिका राईका अनुसार पाँच विद्यार्थी बराबर दुई पाठ्यपुस्तक र तीन विद्यार्थी बराबर एक पाठ्यपुस्तक उपलब्ध गराइएको छ । कैलालीको धनगढीस्थित पञ्चोदय, सत्तीस्थित कर्णाली उमावि र बौनियास्थित रघुवीर बहुमुखी क्याम्पसमा गरी ५१ जना दृष्टिबिहीन विद्यार्थी रहेका छन् । उनका अनुसार अझै पनि ३५ प्रतिशत दृष्टिबिहीन विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
उनले भनिन्– ‘सरकारले सबै बालबालिकालाई विद्यालय पुर्‍याउने भने पनि दुर्गम क्षेत्रमा दृष्टिबिहीनमैत्री विद्यालय नहुँदा बञ्चित हुनुपरेको छ । त्यस्तै, भएका विद्यालयमा पनि व्यवस्थापन राम्रो नहुँदा बन्द हुने अवस्थामा छन् । उनका अनुसार ७ नम्बर प्रदेशको नौ वटा जिल्लामा दृष्टिबिहीन विद्यार्थीलाई अध्यापन गराउने नौ वटा विद्यालय रहेका छन् । जसमा तीनवटा विद्यालय बन्द अवस्थामा रहेका छन् ।’
७ नम्बर प्रदेशको कैलालीमा दृष्टिबिहीनका लागि तीन, डडेल्धुरामा दुई, अछाम, डोटी, बझाङ र बाजुरामा एक/एक विद्यालय रहेका छन् । डडेल्धुरा र बाजुराका विद्यालयमा विद्यार्थी नभेटिनु र व्यवस्थापन कमजोर भएका कारण अहिले विद्यालय बन्द रहेका छन् ।
नेपाल नेत्रहिन संघकी प्रदेश ७ की उपाध्यक्ष समेत रहेकी शिक्षिका राईले भनिन्– ‘डोटी, बझाङ र अछामको विद्यालयमा व्यवस्थापनको कमी छ, यस्तै रह्यो भने ती पनि बन्द हुने अवस्था छ ।’
आधारभूत तथा माध्यमिक तहसम्मका दृष्टिबिहीन विद्यार्थीमात्र होइन उच्च माध्यामिक तहका विद्यार्थी पनि क्याम्पस तथा विद्यालय दृष्टिबिहीनमैत्री नहुँदा समस्यामा रहेका छन् ।
कैलाली बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दै आएका दृष्टिबिहीन नरेन्द्र बिष्टले भने– ‘मलाई सांकेतिक भाषाको (ब्रेललिपि) पाठ्यपुस्तक भएको भए अध्ययन गर्न सहजे हुने थियो, तर पाउन सकेको छैन ।’ विष्टले मात्र होइनन् कक्षा ११ र १२ कक्षामा अध्ययन गरिरहेका दृष्टिबिहीन विद्यार्थीहरूले सांकेतिक भाषाको पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
कैलाली बहुमुखी क्याम्पसमा कक्षा ११ मा तीन र १२ मा दुई गरी पाँच जना दृष्टिबिहीन विद्यार्थी रहेका छन् । विष्टले भने– ‘पुस्तक नहुँदा आवाज अर्थात् सुनेको भरमा अध्ययन गर्नुपर्ने बाध्यता छ ।

समस्यामा दृष्टिबिहीन विद्यार्थीहरू
सांकेतिक भाषाको पाठ्यपुस्तक नपाई अध्ययन गर्नुपर्ने बाध्यता मात्र नभई दृष्टिबिहीन विद्यार्थीहरूले परिक्षा दिँदा पनि समस्या भोग्नु परिरहेको छ ।
दृष्टिबिहीन विद्यार्थी बिष्टले आफूले एसईई परीक्षा दिँदाको अवस्थालाई स्मरण गर्दै भने– ‘परीक्षा दिँदा सहयोगी पाइन ।’ उनले आफू अध्ययन गरिरहेको विद्यालयले पनि सहयोगी मिलाउने काम नगरेको स्मरण गरे । उनलाई सहयोगी नपाउनुमात्र होइन परीक्षामा आएका केही प्रश्नहरूको उत्तर दिन पनि कठिन भएको बताए ।
‘सामाजिक शिक्षा, विज्ञान, गणितमा चित्रसहितका प्रश्न आएका थिए’ उनले भने ‘चित्रनै नदेखि कसरी उत्तर दिन सकिएला ।’ उनले यस्ता प्रश्नपत्रमा दृष्टिबिहीनमैत्री बनाउन जरुरी रहेको बताए ।

जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाउँ: मन्त्री सोडारी

७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले विद्यालयमा दृष्टिबिहीनमैत्री वातावरण बनाउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाउन आग्रह गरेका छन् ।
‘कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूलाई दृष्टिबिहीन विद्यार्थीहरूका समस्या तथा समाधान बारे अनविज्ञ रहेका छन्’ मंगलबार नेत्रहिन युवा संघ नेपालले आयोजना गरेको दृष्टिबिहीनमैत्री शिक्षा प्रणालीको विकासका लागि अन्तरक्रियात्मक विषयक कार्यक्रममा मन्त्री सोडारीले भने ‘आधारभूत तथा माध्यामिक तहका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा दिइएको छ ।’ त्यसैले स्थानीय तहका जनप्रतिनिधिहरूमा जनचेतना जगाउन जरुरी रहेको छ ।’ उनले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा दृष्टिबिहीन तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष कार्यक्रम ल्याउने बताउँदै ‘अपाङ्मैत्री कार्यक्रम ल्याउन तपाईहरूको सल्लाह, सुझाव आवश्यक छ ।’ उनले दृष्टिबिहीन विद्यार्थीहरूलाई अध्यापन गर्नमा सहयोग पुर्‍याउन प्रविधिको विकासमा जोड दिइने पनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धनगढी स्रोत व्यक्ति रामबहादुर शाही, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य मानबहादुर साउँद, प्रदेश अध्यक्ष भीमबहादुर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेत्रहिन युवा संघ नेपाल कैलालीका अध्यक्ष अर्जुन रावलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले दृष्टिबिहीन विद्यार्थीहरूको समस्या, चुनौति, समाधानका विषयबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन पदम सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार