सामाजिक सुरक्षा भत्ता वितरण अस्तव्यस्त
कञ्चनपुर । घरटोलमै सामाजिक सुरक्षा भत्तावापतको रकम पाउने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ की किथ्थी लुहार (बृद्ध) पनि दंगदास भइन् । गत मंसिरअघि किथ्थीले बैंकखाता मार्फत बृद्धभत्ता पाइराखेकी थिइन् । स्थानीय सरकार बनेपछि जनप्रतिनिधिले घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेपछि उनीसहित सबै सेवाग्राही खुसी भएका थिए । तर, किथ्थीको खुसी क्षणभरमै हरायो । गत मंसिरमा भत्ता बुझ्न सामुदायिक स्वास्थ्य ईकाई, निगाली पुगेकी उनी भत्ता पाउने सूचीमा आफ्नो नाम नदेखेपछि आश्चर्यमा परिन् । भत्ता वितरण गर्न आएका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई उनले आफूले बैंकमार्फत नियमित रूपमा भत्ता पाइराखेको बताइन् । तर, सूचीमा उनको नाम नै नभएको भन्दै उनलाई रित्तोहात फिर्ता पठाइयो ।
किथ्थीले केही बुझ्न सकिनन् । दोस्रो किस्ता वितरणको बेला भत्ता पाउने आशामा उनी घर फर्किइन् । गत चैत ३० गते नगरपालिकाको वडा कार्यालयले घर–टोल सामाजिक भत्तावापतको दोस्रो किस्ता वितरण गर्ने सूचना जारी गर्यो । उनी हतारिँदै पुगिन् । तर, फेरि पनि भत्ता पाउने लिष्टमा उनको नाम थिएन । सो वडाका पाँच सय ७० जनाले नियमित रूपमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकोमा किथ्थीसहित छ जना अहिले आएर बञ्चित हुनुपरेको छ ।
भत्ता पाउन नसकेपछि किथ्थीले कारण खोजिन । उनलाई लाग्यो– ‘सायद मैले वडाध्यक्षलाई भोट नदिएका कारण मैले भत्ता पाउन सकिन । उनी भन्छिन्– ‘मैले यसअघि बैंकमार्फत भत्ता बुझ्दै आएकी थिए । अहिले जनप्रतिनिधिले घरमै पुर्याउने भनेपछि मेरो नाम कसरी हरायो ?’
वडाध्यक्ष मोहनराज बस्नेतले वडा नम्बर १ मा मात्र नभएर धेरै वडाको त्यस्तै खालको समस्या रहेको बताए । ‘गत मंसिर र पुसमा घरमै पुगेर भत्ता वितरण गर्दा मेरो वडाका छ जनाको नाम छुटेको पाएँ’ वडाध्यक्ष बस्नेतले भने– ‘हामीले गत फागुनमा भत्ता पाउने लिष्टमा छुट्न गएका व्यक्तिको नामावाली नगरपालिकाको कार्यालयमा बुझाएका थियौं, तर गत चैतमा पनि उनीहरूको नाम आएन ।’
वडाध्यक्ष बस्नेतले नगरपालिकाको सामाजिक सुरक्षा भत्ता ईकाईका कर्मचारीको त्रुटिका कारण आफूहरूमाथि अपगाल आएलागेको बताए ।
‘गल्ती गर्ने नगरपालिका, दोष बेहोर्नुपर्ने मैले ?’ वडाध्यक्ष बस्नेतले भने– ‘नाम छुटेको छ समावेश गरिदिनुपर्यो भन्दा पनि पुन: दोस्रो पटक त्यही गल्ती दोहोरियो ।’ उनले आफूले नगरपालिकामा सम्पर्क गर्दा प्राविधिक कारणले छुट्न गएको प्रतिक्रिया पाउने गरेको बताए । वडाध्यक्ष बस्नेतले भने– ‘यो विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मेरो बदनाम भइरहेको छ ।’
नगरपालिकाका सामाजिक ईकाई प्रमुख प्रेम विष्टले अहिलेको नयाँ संरचनाले केही समस्या देखिएको बताए । उनले नगरपालिकाका वडाहरूमा छुट्न गएको नामको विवरण पठाउन आग्रह गरेको र अहिले पनि सबै ठाउँबाट विवरण आउन नसकेको बताए ।