मोहनापुल–अत्तरिया छ लेन सडक : सडक सीमाभित्र रहेका भौतिक संरचना भत्काउने कार्य जारी
धनगढी । मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना अन्तर्गत सडकको सीमाभित्र रहेका भवन सहित भौतिक संरचना भत्काउने कार्य तीब्र बनाइएको छ ।
अदालतको आदेशपछि पनि सडक सीमाभित्र बनेका घरभवन सहित भौतिक संरचना नहटाइएपछि आयोजनाले गत सोमबारदेखि भत्काउन शुरु गरेको थियो ।
शुक्रबार धनगढीको ट्राफिक चौराहदेखि मोहनापुलसम्मको सडक खण्डमा परेका भौतिक संरचना भत्काइएको थियो ।
मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाका प्रमुख मनिश शाहले सोमबार धनगढीको चौराहबाट बोराडाँडीसम्म रहेका भौतिक संरचना डोजर लगाएर भत्काइएको बताए ।
सडक सीमाभित्र बनेका घरभवन, पर्खाल आदि संरचना भत्काउने क्रममा शुक्रबार कैलाली भन्सार कार्यालयको राजश्व संकलन गर्ने घरमा पनि तोडफोड गरिएको थियो । डोजर लगाएर राजस्व संकलन गर्ने घरको भित्ता भत्काइएको थियो । कैलाली भन्सार कार्यालयलाई सो घर भत्काउन पाँच दिनको समय दिएको भए पनि कुनै वास्ता नगरेकोले डोजर लगाएर भत्काउनु परेको उनले बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको नेतृत्वमा रहेको टोलीले डोजर लगाएर तोडफोड गरेपछि केही बेर भन्सार कार्यालय क्षेत्रमा तनाव सिर्जना भएको थियो ।
भन्सार कार्यालयको राजस्व संकलनमा कार्यरत कर्मचारीहरूले राजस्व संकलन गर्न बन्द गरेका थिए । धनगढी उपमहानगरपालिका प्रमुख वडले सडकको मापदण्डभित्र बनेकोले सो भवन पुरै हटाइने बताए ।
सर्वोच्च अदालतले सडक आयोजनाको पक्षमा अन्तरिम आदेश दिएको दुई महिनापछि आयोजना, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले सडक सीमाभित्र बनेका भवनघर, पर्खाल लगायतका भौतिक संरचना हटाउन सक्रियता देखाएका छन् । सर्वोच्च अदालतको आदेशपश्चात ९० प्रतिशत घरधनीले आफै घर भत्काए पनि अरूले आलटाल र विभिन्न बहानाबाजी गरी आयोजना निर्माण कार्यमा बाधा पुर्याइरहेका थिए ।