६ माघ २०८१, आईतवार

विशेष प्याकेज प्रदान गरिँदै



धनगढी । सात नम्बर प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविका, बाल विकास शिक्षक, अस्पतालका स्वयंसेवक तथा विद्यालय सहयोगीहरूलाई विशेष प्याकेज दिने भएको छ ।
सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत गरेको अल्पकालीन बजेटमार्फत सात नम्बर प्रदेशका महिला स्वास्थ्य स्वयंसेविका, बाल विकास शिक्षक, अस्पतालका स्वयंसेवक र विद्यालयका सहयोगीलाई विशेष प्याकेजको घोषणा गरेको छ ।
बिहीबार धनगढीमा सात नम्बर प्रदेश स्तरीय नेपाल बालविकास शिक्षक समितिको पहिलो अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारले महिला स्वास्थ्य स्वयंसेविका, बाल विकास शिक्षक, अस्पतालका स्वयंसेवक र विद्यालय सहयोगीलाई विशेष प्याकेज प्रदान गर्ने बताए ।
मन्त्री सोडारीले प्रदेश सभा (संसद) ले बजेट पारित गरेलगत्तै विशेष प्याकेज कार्यान्वयनमा आउने बताए । प्रदेश संसदको आज (शुक्रबार) को बैठकमा अल्पकालीन बजेट अनुमोदनका लागि निर्णयार्थ पेस हुने जनाइएको छ ।
मन्त्री सोडारीका अनुसार चालू आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट दुई हजार, बालविकास शिक्षकलाई दुई हजार, अस्पतालका स्वयंसेवकलाई तीन हजार र विद्यालय सहयोगीलाई दुई हजार रुपैयाँका दरले विशेष प्याकेज प्रदान गरिने छ । मन्त्री सोडारीले सरकारको आगामी वार्षिक बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रुपैयाँ सहयोग प्रदान गर्ने बारे छलफल भइरहेको जानकारी दिए ।
अधिवेशनमा प्रदेश नम्बर ७ का सबै नौ वटै जिल्लाका बालविकास शिक्षकको उपस्थिति रहेको छ ।
नेपाल बालविकास शिक्षक समिति कैलाली–कञ्चनपुरले संयुक्त रूपमा आयोजना गरेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । सात नम्बर प्रदेशमा तीन हजार सात सय ६७ बालविकास शिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार