रविनाकी छोरी, दुरुस्त आमाजस्तै
९० को दशकमा बलिउडकी सुन्दरतम अभिनेत्री मानिन्थिन् रविना टन्डन । बिहे गरेपछि उनी फिल्ममा निस्क्रिय भइन् । पछिल्लो समय रविना थडानीसँग विभिन्न इभेन्टहरुमा ठ्याक्कै उनीजस्तै अनुहार भएकी किशारीलाई देख्न सकिन्छ । यी किशोरी हुन् रविनाकी छोरी राशा । रविनाका १ छोरा र ३ छोरीमध्ये उनी जेठी सन्तान हुन् ।
राशा अहिले १३ वर्षकी भइन् । अहिले पूर्णरुपमा आफ्नो पढाईमा केन्दि्रत छिन् । यद्यपि, फिल्मी इभेन्टहरुमा उनी आमाको साथमा पुगिरहेकी हुन्छिन् । उनको अनुहारमा मात्र नभएर हाउभाउमा पनि आमाको झलक पाउन सकिन्छ । स्टार किड्स भनेपछि मरिहत्ते गर्ने भारतीय मिडियाहरुले अहिलेदेखि नै उनलाई पछ्याउन थालिसकेका छन् ।
रविनाको कुरा गर्दा उनी ९० को दशककी सफल अभिनेत्री थिइन् । उनको विभिन्न हिरोहरुसँग नाम जोडिएको थियो । सुपरहिट फिल्म ‘मोहरा’ मा काम गर्दा रविनाको अक्षय कुमारसँग लसपस रह्यो । तर, अक्षयले उनीजस्तै अनुहार भएकी अर्की हिरोइन् टि्वंकल खन्नासँग बिहे गरेपछि रविना हिस्स परिन् ।
अक्षयपछि उनी अजय देवगणसँग नजिकिइन् । यो जोडी फिल्म ‘दिलजले’ बाट हिट भएको थियो । तर, अजयसँग पनि उनको प्रेम सफल हुन सकेन ।
अन्ततः रविनाले सन् २००४ मा अनिल थडानीसँग घरजम गरिन् । उनीहरुको वैवाहिक जीवन सुखद रुपमा चलिहरेको छ । रविना पछिल्लो समय रियालिटी शोहरुमा जजको रुपमा देखिन्छिन् ।