२९ कार्तिक २०८१, बिहीबार

सरकारको अल्पकालीन बजेट



धनगढी । प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूले आइतबार ७ नम्बर प्रदेश संसदमा पेश भएको सरकारको अल्पकालीन बजेटमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रदेश सभा (संसद) को मंगलबारको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले दुई वटा संशोधन प्रस्ताव दर्ता गराएको जनाइएको छ ।
प्रतिपक्ष दलका सांसदहरूले बजेटले प्रतिपक्षलाई वेवास्ता गरेको, प्रदेश सरकारको नीति तथा कार्यक्रम र स्वेतपत्रसँग अल्पकालीन बजेट मेल नखाएको आरोप लगाए । प्रतिपक्ष दलका सांसदहरूले सरकारको अल्पकालीन बजेटले सत्तापक्षका नेता कार्यकर्ता तथा आसेपासे संघसंस्थालाई पोस्ने काम गरेको आरोप लगाए ।
नेपाली काँग्रेसका सांसद कर्णबहादुर मल्लले बजेटमाथि संशोधन प्रस्ताव पेस गर्दै एक सय ४९ बुँदाको अल्पकालीन बजेटले प्रदेशको समृद्धिमा कुनै योगदान नपुर्‍याउने बताए ।
उनले प्रदेश सभाका ५३ जना सांसदहरूले सरकारलाई पठाएका विकास निर्माण योजनाप्रति बजेटले पूर्ण वेवास्ता गरेको बताए । भने– यो बजेटले कनिका छर्ने मात्रै काम गरेको छ ।
नेपाली काँग्रेसका सांसद मल्ल प्रस्तावक र रापजा सांसद मालामति रानाथारू समर्थक रहेको ‘अनुसन्धान तथा परामर्शका लागि छुट्टाइएको सात करोड २० लाख रकम एक रुपैयाँमा झारियोस्’ भन्ने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
त्यसैगरी राजपा सांसद कृष्णबहादुर चौधरी प्रस्तावक र नेपाली काँग्रेसका संसद रणबहादुर रावल समर्थक रहेको ‘अनुगमन तथा भ्रमण शीर्षकमा विनियोजन दुई करोड ९० लाख रकममा संशोधन’ दर्ता भएको छ ।
बजेटमाथिको छलफलका क्रममा सांसद नन्दाकुमारी बमले बजेटमा सबैको अपनत्व नभएको बताए । उनले प्रदेश सरकारले योजना बिनाको बजेट ल्याएको आरोप लगाइन् ।
सांसदहरूले सकरारको नीति तथा कार्यक्रमलाई बजेटले समेट्न नसकेको, जनताको अपेक्षा अनुसारको बजेट नआएको र चालू खर्चमा बढी बजेट राखिएकोमा आपत्ति जनाए ।
प्रदेश सभाका सचिवालयका सचिव बालाराम शर्माले संशोधन प्रस्तावउपर भोलि संसदको कार्यव्यवस्था समितिमा छलफल हुने बताए ।
उनले कार्यव्यवस्था समितिको बैठकपछि मात्र ती संशोधन संसदमा प्रवेश पाउने वा नपाउने विषयमा निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार