६ माघ २०८१, आईतवार

थारू एकता दलका नाममा चन्दा आतंक



धनगढी । थारू एकता दल, नेपालका नाममा कैलालीका विभिन्न ठाउँमा केही दिनदेखि चन्दा आतंक फैलिएको छ ।
थारू एकता दल, नेपालको चन्दा रसिदमा विभिन्न व्यक्ति, संघसंस्था, व्यापारिक फर्मबाट लाखौं रुपैयाँ चन्दा असुली गर्ने गरिएको बताइएको छ ।
अध्यक्ष विश्वनाथ थारूको हस्ताक्षर रहेको चन्दा रसिदमा चार लाख रुपैयाँसम्म माग गरिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकामा सो समूहको चन्दा आतंक अन्यत्रको तुलनामा अझ बढि रहेको पाइएको छ । सो समूहले स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारीलाई बढि लक्षित गरी चन्दा असुली गरिरहेको पाइएको छ ।
थारू एकता दल नामक समूहका व्यक्ति घरमा बालबालिका मात्रै भएको मौका छोपी खाममा बन्द गरेर चन्दा रसिद दिने गरेको एकजना पीडितले बताए । उनले आफू घरमा नभएको बेला कोही अपरिचित व्यक्तिले सानो बच्चालाई चन्दा रसिद दिएको बताए ।
‘मान्छे पनि चिनेको छैन, देखेको पनि छैन, यही रसिदमा नाम लेखेको देखेर थाहा पाए’ अर्का एकजना पीडित व्यक्तिले भने– ‘कसका विरुद्ध उजुरी गरुँ ?’ उनले आफूले यति धेरै रकम दिन नसक्ने बताए । भने– ‘मैले कुनै लुटेर वा ठगेर कमाएको छैन । सामान्य आर्थिक अवस्था भएको परिवार छ । यति धेरै रकम दिनसक्ने मेरो औकात छैन ।’
कैलालीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विनोद घिमिरेले कैलालीका विभिन्न ठाउँमा केही दिनदेखि चन्दा असुली भइरहेको सुनिन आएको बताए । उनले चन्दा माग्ने कार्यबारे अनुसन्धान भइरहेको बताए ।
प्रहरी उपरीक्षक घिमिरेले चन्दा रकम माग गरिएको रसिद घरको आँगनमा छोडेर जाने गरेको पनि पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार