३ आश्विन २०८१, बिहीबार

गाडी बिग्रेर सभामुख, उपसभामुख हैरान



धनगढी । दिनहुँजसो पटकपटक गाडी बिग्रिने समस्याका कारण प्रदेशका सभामुख तथा उपसभामुख हैरान भएका छन् ।
प्रदेश सभामुख तथा उपसभामुखले प्रयोग गर्ने गाडीमा कहिले स्टार्ट नै नहुने, कहिले बीच बाटोमा इन्जिन बन्द हुने लगायतका समस्याका दोहोरिने गरेको बताइएको छ ।
आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरस्थित पञ्चोदय माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी बन्न गएका सभामुख अर्जुनबहादुर थापा चढेको से १ झ २३४ नम्बरको गाडी फर्किने क्रममा स्टार्ट नै हुन सकेन । गाडी बिग्रेपछि सभामुख थापा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको गाडीमा ‘लिफ्ट’ मागेर प्रदेश सभाको आफ्नो कार्यकक्ष पुगेको उनका स्वकीय सचिव कविन्द्र रोकायाले बताए ।
‘हामीले मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई गाडीको अवस्थाबारे जानकारी गराएपछि बा १ झ ९१७७ नम्बरको गाडी पठाइएको थियो’ सभामुखका स्वकीय सचिव रोकायाले भने– ‘तर त्यो गाडी स्टार्ट गर्न खोज्दा धुँवा आउन थाल्यो ।’
उनले त्यो गाडीमा पानी हालेर आगो निभाएको बताए । सभामुखले प्रयोग गर्ने एउटा गाडी पञ्चोदय स्कूलमा थन्किएको छ भने अर्को सभामुखको निवासमा रहेको छ ।
सभामुख थापाले जस्तै उपसभामुख निर्मला वडाल जोशीले पनि पटकपटक गाडी बिग्रने समस्या भोगिराखेकी छिन् । ‘मैले चढ्ने गाडीमा एसी लगायतको कुनै सुविधा त छैन नै’ उनले भनिन्– ‘एक दिन त कञ्चनपुरको गुलरियामा गाडी बिग्रेपछि एकजनाको मोटरसाइकलमा धनगढी फर्किए ।’
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सभामुखका लागि तत्कालै अर्को गाडी व्यवस्था गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रिजालले संघीय सरकारले प्रदेशका लागि थोरै गाडी पठाएकोले गाडी व्यवस्थापनमा समस्या परेको बताए । उनले अझै कम्तिमा नौ वटा गाडी आवश्यक परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार