९ माघ २०८१, बुधबार

प्रदेश नम्बर ७ मा स्वास्थ्य वर्ष शुरु



धनगढी । सामाजिक विकास मन्त्रालयले २०७५ साललाई स्वास्थ्य वर्षका रुपमा अघि बढाउने भएको छ । स्वास्थ्य प्रति जिम्मेवार, समृद्धिको आधार भन्ने नाराका साथ यो वर्षलाई स्वास्थ्य वर्षकारुपमा मनाईन लागिएको हो ।
अभियानको शनिबार प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले योगा लगायत विभिन्न सरसफाईका कार्यक्रम गरि शुरुवात भएको घोषणा गरेका थिए ।
योगा अभ्यासदेखि स्वागत कार्यक्रमसम्मको अगुवाई गरेका प्रदेशका मुख्यमन्त्री भट्टले भने स्वास्थ्य पहिलो हो, स्वस्थ रहन दैनिक योगा अभ्यास गर्न जरुरी छ । उनले अभियानका प्रतिवद्धता आफुले व्यवहारमा लागू गर्ने र अरुलाई पनि प्रोत्साहित गरिने बताए ।
सभामुख अर्जुन थापाले मेरो बर्ष अभियानका प्रतिवद्धता आफूले प्रतिवद्ध भएर लागू गर्ने घोषणा गरे । शनिबार विहान स्वस्थ रहन प्रेरित गर्नका लागि मुख्यमन्त्री भट्ट, सभामुख थापासहित प्रदेशका मन्त्रीहरुले योगा अभ्यास गरे । त्यसपश्चात अस्पतालका बृद्धबृद्धा सहितका विरामीलाई फलफुल वितरण, अस्पताल क्षेत्र सरसफाई पनि सरसफाई गरे ।
कैलालीको धनगढीबाट शुरुवात भएको अभियानलाई प्रदेश ७ का गाउँ÷वडा तहमा पुर्याउन सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ । प्रदेशमा पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगका विरामीहरु बढ्दै गएपछि मन्त्रालयले मानिसलाई स्वस्थ रहन यो अभियान सञ्चालन गरेको सामाजिक विकास मन्त्री दीर्घ सोडारीले बताए । मन्त्री सोडारीले सात नम्बर प्रदेशलाई सन्देश दिन अस्थायी राजधानी धनगढीबाट मेरो बर्ष अभियान शुरु भएको चर्चा गरे ।
मन्त्री सोडारीले भने नयाँ वर्षमा हामी सबै स्वस्थ रहौं । स्वास्थ्य लाभ गरौं, शाररिक व्यायम गरौं, स्वास्थ्यमैत्री काम गरौं कामना गर्छु । उनले आम मानिसलाई स्वस्थ रहन पोषीलो खाना खानुपर्ने, नियमित व्यायम गर्नुपर्ने, स्वस्थ परिक्षण गर्न लगायतका अनुरोध गरे ।
स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्षेनी मृत्यु हुने मध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ । करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ । चाउचाउ, कोक, जंक फुड लगायतका कारण नेपालमा दम, मुुटु, मृगौला, मधुमेह, पक्षघात , क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ ।
नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेतना फैलाउनुको विकल्प छैन, मन्त्री सोडारीले भने ।
मन्त्रालयले चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ नखाने, नियमित व्यायम गर्ने, ट्राफिक नियमको पालना गर्ने लगायतका आठ बुँदे प्रतिवद्धता जनाएको छ । स्वास्थ्य मन्त्रालयले २०७४ साललाई स्वास्थ्य वर्ष घोषणा गरेको थियो भने देश नयाँ संरचनामा गईसकेपछि प्रदेश सरकारले यस वर्षलाई स्वास्थ्य वर्षका रुपमा मनाउन लागेको छ । 

यस्तो छ प्रतिवद्धताः
– म तनाव रहित जीवन व्यतित गर्छु
– ट्राफिक नियमको पालना गर्छु 
– म मेरो घर र टोल समुदाय सफा राख्छु
– म चुरोट रक्सी र सुर्ती जन्य पद्धार्थ खान्न
– म नियमित व्यायाम गर्छु 
– म पोषिलो खाना खान्छु
– म नियमति स्वास्थ्य जाँच गर्छु
– म मेरो परिवार र समूदायको स्वास्थ्यप्रति सजग रहन्छु

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार