डीपीएल २ : काठमाडौं गोल्डेन्स महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश
धनगढी । काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लीग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा आज भएको दोस्रो क्वालीफायरमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गदै काठमाडौं गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो ।
१ सय ४३ रनको लक्ष्यसहित ब्याटिङ गरेको काठमाडौंले सो लक्ष्य १८ ओभर २ बलमा ५ बिकेटको क्षतिमा भेटायो । काठमाडौंलाई जीत तर्फ डो¥याउन सुवोध भाटीले १८ बलमा ५२ रनको योगदान दिएका थिए । भाटीको यो अर्धसतक यस प्रतियोगिताको सबैभन्दा कम बलमा हो । यस्तै, अमित श्रेष्ठले २६ रनको योगदान गरेका थिए ।
यसअघि टसहारी पहिलो ब्याटीङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । महेन्द्रनगरका लागि पुनित मेहराले ५८ तथा आरिफ शेखले ४३ रनको योगदान गरेका थिए । महेन्द्रनगरलाई १ सय ४२ रनमै सीमित राख्न म्यान अफ द म्याच घोषित संन्नी पटेलले ४ ओभर बलीङ गरी १ मेडन फक्दै १० रन खर्चेर ६ विकेट लिएका थिए ।
धनगढी प्रिमियर लीगको उपाधिका लागि टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स बीच भोलि प्रतिस्पर्धा हुनेछ ।
लीग विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।