२ जेष्ठ २०८१, बुधबार

सिकलसेल निराकरणका लागि कार्यक्रम



हसुलिया । कैलालीमा वंशाणुगत सिकलसेल रोग निराकरणकालागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले थारू बाहुल्य क्षेत्रमा सचेतना कार्यक्रम गरेको छ ।
आमा समूहका महिलाका लागि हसुलिया र थापापुर स्वास्थ्य चौकीमा सचेतना कार्यक्रम गरिएको हो । सिकलसेल मुक्त गाउँ बनाउने उद्देश्यले सिकल सेल (हसिया) रोग सम्बन्धी सचेतनाका कार्यक्रम गरिएको जिल्ला जनस्वास्थ्य कैलालीका वरिष्ठ अधिकृत टंकप्रसाद चापागाईले बताए ।
२०६८ को जनगणना अनुसार कैलालीमा एक लाख ३७ हजार चार सय ७० थारु जनसंख्या रहेकोमा १८ प्रतिशतमा सिकलसेल रहेको अनुमान छ । सिकलसेल रोगको लक्षण व्यक्ति अनुसारको फरक–फरक हुने भएकाले थारू समुदायमा रगत परीक्षणका लागि सरकारले आग्रह गरेको छ ।
लक्षण अनुसारको औषधि सेवन गरेमा रोग लागेका मान्छे लामो समयसम्म बाच्ने प्रशिक्षक ईन्द्र बानियाले बताए । एक पुस्ताबाट अर्काे पुस्तामा मात्र सर्ने यो रोग नेपालमा थारू समुदायमा मात्र देखा परेको छ । तर अन्य समुदायमा पनि रोग हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
रोगको बारेमा जानकारी, रोगबाट बच्न सकिने उपाय, रोगका बारेमा समुदाय स्तरमा रहेको अन्यौलता लगायतका बारेमा आमा समूहसँग छलफल गरिएको हो । धनगढीको सेती अञ्चल अस्पताल र घोडाघोडी अस्पताल सुखडले सिकलसेलका बिरामीको अपचार गर्दै आएको छ । बिरामीलाई सरकारले एक लाख बराबरको औषधि नि:शुल्क दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार