१२ माघ २०८१, शनिबार

प्राकृतिक स्रोतको प्रयोग र कृषि आधुनिकीकरणबाट समृद्धि : मुख्यमन्त्री



धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्राकृतिक स्रोतको प्रयोग र कृषिको आधुनिकीकरण गर्दै कृषिमा युवा सक्रिय भएमात्रै समृद्धि आउने बताएका छन् । युवा गैरसरकारी संस्था महासंघको आयोजनामा युवा र दिगो विकास लक्ष्य विषयक कार्याशालाको सोमबार धनगढीमा उद्घाटन गर्दे मुख्यमन्त्री भट्टले यो कुरा बताएका हुन ।
‘हामीसँग कृषियोग्य जमिन छ । तराई पहाड हिमाल छ । पर्यटकीय स्थल छन् । जलस्रोत छ । जडिबुटी छ । परिचालन गर्ने विधि आट छैन । माटोमा जान युवा तयार छैन । देशको मुख्य पेशा कृषि भएर पनि हेलाको पेशा भएको छ । माटोमा गएपछि हेला गर्ने चलन छ’ उनले भने, ‘अरूलाई दोष दिएर मात्र होइन । कृषिमा दिमाग लगाऔं, लगानी लगाऔं । पर्यटनतिर पनि विकास गरेर अरू देशका मानिसलाई आकर्षित गरौं । नयाँ कानुन चाहे अनुसार बनाऔं ।’
प्रदेश सांसद रणबहादुर रावलले अहिलेकै रफ्तारमा पहाडका डाँडामा डोजर लगाउने हो भने अबको दश वर्ष डाडा नांगा हुने चिन्ता व्यक्त गर्दै इमान्दारिता विकासमा मात्र नभई वातावणरप्रति पनि हुनुपर्ने बताए । रावलले भने, ‘अहिले विदेश पलायन युवाले पठाएको रेमिट्यान्सबाट देश धानेको छ । उत्तरदक्षिण नाका खोलौं । आर्थिक, सामाजिक, विकास गरौं । वातावरण जोगाऔं । दिगो विकास संभव छ ।’
प्रदेश सांसद देवकी मल्लले संघीयता कार्यान्वयनसँगै देश समृद्धि र समाजवादको बाटोमा अघि बढेकाले परिवर्तन र विकासमा युवाको योगदान आवश्यक रहेको बताइन । उनले नयाँ राजनीतिक प्रणालीमा प्रदेशभित्रै रोजगारीका अवसर खोजिने बताइन् ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले हरेक वर्ष नेपली श्रमबजारमा आउने पाँच लाख युवालाई रोजगार दिने क्षमता सरकारसँग नभएपनि आत्मविश्वासी र प्रयत्नशील युवालाई तीनै तहका सरकारबाट सहयोग रहने बताए । उनले भ्रष्टाचार नियन्त्रणको जिम्मा पनि जनप्रतिनिधिले लिनुपर्ने र भ्रष्टाचारीलाई सार्वजनिक स्थलमा कोर्रा हान्ने कानुन बनाउनुपर्ने माग गरे ।
डाक्टर प्रमोद उप्रेतीले दिगो विकास लक्ष्य हासिल गर्न हरेक स्थानीय तहले यसलाई स्थानीयकरण गर्नुपर्ने र आफ्नो अवस्था र आवश्यकताअनुसार लक्ष्य राखेर काम गर्न सुझाए । हरेक लक्ष्यहरूको घोषणा बृद्धहरूले गरेपनि त्यसको कार्यान्वयन र गरिबी विरुद्धको लडाई युवाहरूले लडनुपर्ने यसका लागि सरकारले यस विषयमा प्रशिक्षित गरिदिनुपर्ने, तालिम दिनुपर्ने र त्यसै काममा संलग्न गराइदिनुपर्ने बताए ।
कार्यक्रम युवा गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हिम विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार