प्रदेश सातको लोगोको टुंगाे लाग्यो
धनगढी । प्रदेश सातका प्रदेश सभाका सदस्यहरुले कोटमा लगाउने लोगो बन्ने भएको छ । प्रतिस्पर्धाबाट लोगो छानिएर बन्न थालेको हो ।
प्रदेश सभाले लोगो छनौट गर्न प्रदेश सभाका सदस्यहरु रहेको लागो निर्धारण समिति बनाएको थियो । सो समितिले स्थानीय सञ्चार माध्याममा सूचना प्रकाशित गरेको नमूना लोगो निर्माणका लागि सार्वजनिक आव्हान गरेको थियो ।
नमूना लोगो बनाउने प्रतिस्पर्धामा प्रदेश सातका पाँच जनाले भाग लिएका थिए । तीमध्ये डोटीको शिखर नगरपालिका–११ का टेकबहादुर किमाडीले बनाएको लागो सर्वोत्कृष्ट भएको हो । लोगो निर्धारण समितिले केही परिमार्जन सहित किमाडीले बनाएको लोगो प्रदेश सभामा पेश गरेको थियो ।
सो लागोलाई आइतबार बसेको प्रदेश सभाको ११ औं बैठकले अनुमोदन गरेको छ । ३० वर्षिय किमडी प्रदेश सभा सचिवालयका सहायक कम्प्युटर अप्रेटर पनि हुन । नेपाल र भारतका विभिन्न स्थानमा डिजायन सिकेका किमाडीलाई प्रदेश सभाका उच्च स्तरका कर्मचारीले लोगो बनाउन हौस्याएका थिए । मैले ४–५ रात मेहनत गरेर लोगो बनाए उनले भने सचिवालय म भन्दा माथि र तलका कर्मचारीहरूको सुझाव पनि मानेको थिए ।
लोगाको अर्थ झल्काउने गरेर आठ बुँदामा लोगोको व्याख्या गरिएको छ । लोगोको माथिपट्टी रहेको नेपालको झण्डाले हाम्रो राष्ट्रियता झल्काउँछ व्याख्यामा भनिएको छ राष्ट्रिय झण्डाको मुनी रहेको निलो र सेतो रंगको हिमालले यस प्रदेशमा रहेका २ वटा उच्च हिमाल अपि र सैपाल जनाउँदछ ।
यस्तै, गरेर मध्यभागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भू–भाग र चुरे पहाडलाई जनाउँछ भने तलपट्टी रहेको समतल फाँटले प्रदेशको अन्नको भण्डारका साथै सांस्कृतिक विविधताले भरिएको तराईलाई इंगित गर्दछ ।
राष्ट्रिय झण्डाको दायाँबायाँतर्फ रहेका नौ वटा लालीगुँरासले प्राकृतिक, सांस्कृतिक सुन्दरता तथा विविधताले भरिपूर्ण यस प्रदेशका नौ जिल्लाहरूको प्रतिनिधित्व गर्दछ किमाडीले भने लोगोको अग्रभागमा रहेको नक्साले सात नम्बर प्रदेशको नक्सा जनाउँदछ ।
त्यस्तै गरेर लोगोमा रहेको नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले हाम्रो प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिएको छ भने प्राकृतिक, साँस्कृतिक तथा भौगोलिक रुपमा सम्पन्न हामी प्रदेश सातको चालचलन, रितिरिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न एकताको प्रतिकको रुपमा सुनौलो गोलो घेराभित्र प्रदेशको लोगो देखाईएको छ उनले भने ।
लोगो निर्धारण समितिका संयोजक बलदेव रेग्मीले सूचना जारी गर्दा भनिए अनुसार नै किमाडाीलाई प्रमाणपत्र दिएर सम्मान गरिने कार्यक्रम हरेको छ ।
प्रदेश सभा सचिवालयका नायव सुब्बा युवराज जैसीका अनुसार संघीय संसदको सहयोगमा सुन, चाँदी, मेटल मिलाएर चाँडै लोगो बनाइने भएको छ । प्रदेश सभामा ५३ जना सदस्य रहेका छन् ।
लोगो बनाउने प्रतिस्पर्धामा प्रदेश सभाका सदस्य श्यामलाल रानाथारू, धनगढी उपमहानगरपालिका–१ का हरिप्रसाद सिन्हा, धनगढी–४ का कृष्ण वोहरा र भजनी नगरपालिका–१ का चन्द्रराज पाण्डे पनि सामेल भएका थिए ।