३ जेष्ठ २०८१, बिहीबार

रुस्लान डिपिएल–२ : धनगढी विजयी, अत्तरिया र महेन्द्रनगरले अंक बाँडे



धनगढी । धनगढीमा जारी रुस्लान डिपिएल–२ को शनिबारको खेलमा धनगढी टिम चौराहले रुपन्देही च्यालेन्जर्सलाई हराएको छ । जीतसँगै धनगढी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबारको अर्को खेल खराब मौसमका कारण हुन सकेन । खेल हुन नसकेपछि सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले एक एक अंक बाडेका छन् । यससँगै महेन्द्रनगर अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ ।
डिपिएल–२ मा रुपन्देही च्यालेन्जर्सको खराब प्रदर्शन शनिबार पनि दोहोरियो । धनगढी टीम चौराहले दिएको ७७ रनको विजय लक्ष भेटाउने क्रममा रुपन्देही ७३ रनमा समेटियो ।
वर्षाका कारण आठ ओभरमा खेलाईको खेलमा धनगढीले ७ विकेट गुमाएर ७६ रन बनायो ।
खेलका म्यान अफ द म्याच समेत बनेका धनगढीका सोनु तामाङले १४ बलमा चार छक्का र एक चौकासहित तावडतोड ३४ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले १५ रन बनाए ।
बलिङतर्फ रुपन्देहीका शुभांकर भारीले तीन, दिलिप श्रेष्ठले दुई र सागर पुन तथा शक्ति गौचनले एक एक विकेट लिए ।
७७ रनको लक्ष्य पाएको रुपन्देही च्यालेन्जर्स आठ ओभरमा पाँच विकेटमा ७३ रनमा सिमित भयो ।
रुपन्देहीका सागर पुनले १६ बलमा तीन छक्का र तीन चौका सहित ३३ रन बनाए । दिपक प्रसादले १५ बलमा एक छक्का सहित १६ रन बनाए पनि जीतका लागि पर्याप्त भएन ।
बलिङतर्फ रोहन मुस्तफाले दुई र ललितसिंह भण्डारीले एक विकेट लिए । रुपन्देहीका दुई जना रन आउट भएका थिए ।
अर्को खेलमा सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीचको खेल खराब मौसमका कारण हुन सकेन । फलस्वरूप दुवै टिमले एक एक अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार