२ जेष्ठ २०८१, बुधबार

डिपिएल–२ : काठमाडौंको अपराजीत यात्रा जारी



धनगढी । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा प्लेअफ चरणमा प्रवेश गर्ने काठमाडौं गोल्डेन्स पहिलो टिम बनेको छ ।
विराटनगर किंग्सले दिएको एक सय ६५ रनको लक्ष्य अन्तिम बलमा भेटाउँदै काठमाडौंले लीग चरणको अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफ चरणमा प्रवेश गरेको छ । यो काठमाडौंको लगातारको चौथो जीत हो ।
शुक्रबारको रोमाञ्चक खेलमा अन्तिम बलमा ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरेपछि काडमाडौंले बिराटनगर किंग्सलाई पाँच विकेटले पराजित गर्‍यो । धुँवाधार ब्याटिङ गरेका तथा खेलका म्यान अफ द म्याच समेत बनेका ज्ञानेन्द्रले अविजित ६८ रनको आकर्षक पारी खेले । ४० बलको सामना गरेका उनले चार छक्का र पाँच चौका प्रहार गरेका थिए ।
काठमाडौंको जीतमा भूपेन्द्र थापाको ३६ रन (दुई छक्का, तीन चौका), सन्नी पटेल अविजित २५ रन (तीन छक्का, एक चौका) र पुष्प थापाले एक छक्का र दुई चौकासहित २४ रनको योगदान रह्यो ।
बलिङतर्फ बिराटनगरका वसन्त रेग्मीले दुई तथा पारस खड्का, शुभम् कामत र मन्जित श्रेष्ठले एक/एक रन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा एक सय ६४ रन बनायो ।
बिराटनगरका लागि विदेशी खेलाडी बाबर हायतले बिस्फोटक अर्धशतकीय पारी खेले । हायतले मात्र ३३ बलमा सात विशाल छक्का र तीन चौका हिर्काउँदै ६७ रन बनाए । बिराटनगरका दिलिप नाथले २७ बलमा एक छक्का र चार चौका सहित ३३ रन बनाए । त्यस्तै, पृथु बास्कोटाले ११ तथा अनिलकुमार साह र वसन्त रेग्मीले १०/१० रन बनाए ।
बलिङतर्फ काठमाडौंका ललितनारायण राजवंशीले तीन विकेट लिए । त्यस्तै, रसिद खानले दुई तथा सुबोध भाटीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार