३ जेष्ठ २०८१, बिहीबार

संसद बैठक एकैदिन दुई पटक स्थगित



धनगढी । सात नम्बर प्रदेश सभाको शुक्रबार बस्ने भनिएको बैठक एकै दिन दुईपटक स्थगित भएको छ । आगामी बैठक चैत २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको दशौं बैठक दिउँसो १ बजेका लागि स्थगित भएको थियो । दिउँसो १ बजे हुने भनेको बैठक शुरु नै नभएर चैत २५ गतेका लागि सरेको छ ।
सत्तारुढ दल नेकपा (एमाले) कि सांसद दुर्गा विकले तयारी पूरा नभएरै बैठक बोलाउनु र पटकपटक स्थगित हुने काम ठिक होइन भनिन् ।
शुक्रबार ११ बजे तोकिएको बैठक बस्नका लागि घण्टी समेत बजेको थियो केही सांसद सभाहलमा बसिसेका थिए तर सभामुख सभाहलमै नआएर बैठक स्थगित भएको जानकारी आएको थियो । १ बजेको बैठकका लागि पनि धेरै सांसद सभाहलमा पुगी सकेका थिए ।
संसदको काम कारवाही हेर्न काठमाडौंबाट आउनु भएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्ण हाथेछु पनि सभाहलमा पुगेका थिए । चप्पल लगाएर हलमा प्रदेश गर्न नपाइने भएपछि जुत्ता किनेका प्राध्यापक हाथेछु बैठक हेर्न नपाएरै फर्किएका छन् । संसदको पत्रकार र दर्शकलाई छुट्टाइएको ठाउँमा बस्नका लागि समेत जुत्ता नलगाएर जान नपाइने व्यवस्था छ ।
शुक्रबारको बैठकमा बिहीबार विधायन समितिले पेश गरेको प्रदेश नम्बर सातको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ पारित हुने सम्भावना रहेको थियो ।
संसद सचिवालयका सचिव बालाराम शर्माले सरकार र विधायन समितिबीच केही छलफल बाँकी रहेकोले बैठक स्थगित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार