५ जेष्ठ २०८१, शनिबार

मन्त्री मगरको क्षेत्रमा १५ सय महिलाको स्वास्थ्य परीक्षण



कञ्चनपुर । खानेपानी मन्त्री बीना मगर प्रतिनिधिसभा सदस्य निर्वाचित कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय ६६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये ६ जनामा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको शिविर संयोजक सरु दाहाल अधिकारीले जानकारी दिए । उनका अनुसार २ सय २३ जनामा पाठेघरको मुखको संक्रमण र ७७ जनाको स्तनमा गाठा देखिएका छन् । चैत १८ गते पुनर्वासबाट सुरु भएको शिविर बेलौरी, बेल्डाडी हुँदै २१ गते लालझाडीमा पुगेर सम्पन्न भएको छ ।
मन्त्री मगरको पहल र वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको सहयोगमा क्रान्तिकारी महिला सञ्जाल कञ्चनपुरले दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा हस्पिटलको क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानांग नेतृत्वको ७ सदस्यीय टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । क्यान्सरका कारण दिवंगत हुनुभएकी दिदी ज्ञानु दाहालको स्मृतिमा स्वास्थ्य शिविर सञ्चालन गर्ने पति प्रकाश दाहालको सपना पूरा गर्न तथा आफ्नो क्षेत्रका महिलालाई अल्पायु मृत्युबाट बचाउन शिविर सञ्चालन गरिएको मन्त्री मगरले उद्घाटनका क्रममा बताइन् । कार्यक्रममा क्यान्सर हस्पिटलका निर्देशक डा विजयचन्द्र अधिकारी र कानुन अधिकृत गोकर्ण सापकोटको उपस्थिति रहेको थियो ।
सरसफाईमा ध्यान नदिने र आर्थिक अवस्था कमजोर भएका महिलामा पाठेघरको मुखको संक्रमण बढी देखिएको शिविर संयोजक सरु दाहाल अधिकारीले बताइन् । पुनर्वासमा ४२ जना, बेलौरीमा १०२ जना, बेल्डाडीमा ८८ जना र लालझाडीमा १२ जना महिलामा समस्या देखिएको छ । शिविरमा पाठेघरको मुखको क्यान्सर, संक्रमण, मासु पलाएको र स्तनमा गाठा परेको परीक्षण गरिएको थियो । समस्या देखिएका महिलालाई सेती अञ्चल अस्पताल, कोहलपुर मेडिकल कलेज र भरतपुर क्यान्सर अस्पतालमा रेफर गरेर थप उपचारको लागि पहल भइरहेको छ, उनले भनिन्, सामान्य समस्या देखिएका महिलालाई शिविरमै औषधि वितरण गरिएको छ ।
शिविर सञ्चालन र मतदाता भेटघाटका लागि गृहजिल्ला आएकी मन्त्री मगर आज काठमाडौं प्रस्थान भइन् । गृहजिल्लामा रहँदा मन्त्री मगरले पुनर्वासमा विद्युत महसुल संकलन काउन्टरको उद्घाटन, हुलाकी सडक निर्माणबारे छलफल, आरक्ष शिविरको अवलोकन, सीमा समस्याबारे सुरक्षा निकायसँग छलफल, पर्यटकीय क्षेत्र लिड्डा र छेला औद्योगिक क्षेत्रको अवलोकन लगायत कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार