२ जेष्ठ २०८१, बुधबार

सुरक्षित आप्रवासनबारे जनप्रतिनिधिसँग अन्तरक्रिया



धनगढी । वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित गर्न रोजगारमा जानेहरूलाई स्थानीय तहका वडा स्तरमै आवश्यक सूचना र सीप दिनुपर्ने निर्वाचित जनप्रतिनिधिहरूले सुझाव दिएका छन् ।
सोमबार धनगढीमा सुरक्षित आप्रवासन सम्बन्धी स्थानीय तहका जनप्रतिनिधिहरूसँगको अन्तरक्रियामा सहभागीहरूले तत्कालै वैदेशिक रोजगारमा जानेहरूको संख्यामा धेरै कमी ल्याउन पनि कठिन भएको चर्चा गरे ।
सञ्चार प्रतिष्ठान नेपालले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरूले स्थानीय शासन सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेको अधिकार प्रयोग गरेर वडापालिकाका कार्यालयहरूमै वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह र सीप तालिम दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले तत्कालै स्थानीय स्तरमा पर्याप्त रोजगारी सिर्जना गर्न सम्भव नभएकाले विकल्पको रूपमा रहेको वैदेशिक रोजगारमा जानेहरूलाई रोक्न पनि कठिन रहेको बताए ।
उनीहरूले वैदेशिक रोजगारमा जानेहरूलाई स्वदेश, जाने क्रममा तथा गन्तव्य मुलुकमा सुरक्षित गर्ने तथा वैदेशिक रोजगारलाई उपलब्धीमूलक बनाउन ठोस नीति नियम बनाएर वडास्तरबाटै प्रभावकारी सूचना प्रवाहका साथै आवश्यक सीपतालिमको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले वैदेशिक रोजगारमा जानेलाई अहिले रोक्न सक्ने स्थिति तयार भइनसकेको बताए । उनले भने– ‘यो अवस्थामा स्थानीय सरकारले ठोस योजना बनाएर वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउने दायित्व निर्वाह गर्नु जरुरी भइसकेको छ ।’
‘अहिल्यै स्थानीय स्तरमै सबैलाई रोजगारी दिन्छौं भन्न सकिने अवस्था छैन’ वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले भने– ‘हामी रोजगारी सिर्जना गर्नेमा ध्यान दिइरहेका छौं, तर अहिल्यै वैदेशिक रोजगारमा कमी ल्याउन सम्भव छैन ।’
वडाध्यक्ष ऐरले प्रत्येक वडापालिकामा सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना प्रवाह तथा अन्य कामका लागि आवश्यक बजेट समेत विनियोजना गर्नुपर्ने बताए ।
वडा नम्बर ४ का अध्यक्ष दीपकबहादुर थापाले प्रत्येक वडापालिका कार्यालयबाट सेवाग्राहीलाई सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा गएर आवश्यक सूचना तथा जानकारी लिएर तथा सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान उत्प्रेरित गर्नुपर्ने बताए ।
वडा नम्बर १२ का अध्यक्ष नवराज जोशीले स्थानीय तहमा रोजगारी सिर्जनाका लागि ठोस योजना बनाउनुपर्ने तथा युवाहरूलाई स्वदेश मै स्वरोजगारका लागि प्रेरित गर्नुपर्ने बताए ।
वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातलीले वैदेशिक रोजगारमा जानेहरूलाई स्वदेशमै रोक्नको लागि स्थानीय सरकार र संघसंस्थाहरू मिलेर पहल गर्नुपर्ने बताए । उनले युवाहरू लहलहैमा लागेर विदेश जाने अवस्थामा कमी ल्याउन वडा कार्यालयहरूबाट आवश्यक सूचना प्रवाहको व्यवस्था गर्नुपर्ने बताए ।
वडा नम्बर १५ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले स्थानीय सरकारले सुरक्षित आप्रवासन कार्यक्रम अगाडि बढाउन बजेट व्यवस्था गर्नुपर्ने बताए । उनले प्रत्येक वडा कार्यालयमा वैदेशिक रोजगार सम्बन्धी होर्डिङबोर्ड तथा सूचना केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले सुरक्षित आप्रवासन कार्यक्रम स्थानीय तहमा लागु गर्नका लागि ऐनले नै अधिकार दिएकोले त्यस अनुसारको नीति बनाएर कार्यक्रम ल्याउनुपर्ने बताए । ‘हामीले नीति बनाएर हाम्रो वडामा लागु गर्ने छौं,’ वडाध्यक्ष चौधरीले भने– ‘यसले हाम्रो वडाबाट बैदेशिक रोजगारमा जाने युवाहरू सुरक्षित हुन मद्दत पुग्ने छ ।’
वडा नम्बर १५ का अध्यक्ष फूलाराम चौधरीले सधैभरि परियोजना नरहने तथा वैदेशिक रोजगारीमा जाने प्रक्रिया निरन्तर चलिरहने भएकाले वडा कार्यालय आफैले बजेट व्यवस्थापन गरेर सूचना केन्द्र सञ्चालन गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन सुरक्षित आप्रवासन परियोजनाले सिकाएको बाटोमा लागेर वडा कार्यालयहरूले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
वडा नम्बर २ का सदस्य मानबहादुर सिंहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकेमात्र वैदेशिक रोजगारमा जानेहरूको संख्यामा कमी आउने बताए ।
नगर कार्यपालिका सदस्य कल्याणी सिंहले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित गर्न प्रत्येक स्थानीय तहले आवश्यक नीति तर्जुमा गर्न आग्रह गरिन् ।
कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाशविक्रम शाहले वैदेशिक रोजगार घरघरको समस्या भएकाले यस विषयमा प्रत्येक वडा र पालिकाले कार्यक्रम गर्नुपर्ने बताए । उनले सबै स्थानीय सरकारहरूले अभियानको रूपमा बैदेशिक रोजगार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कैलाली जिल्लाबाट हालसम्म ३५ हजार भन्दा बढि युवाहरूले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गइसकेका छन् ।
सञ्चार प्रतिष्ठान नेपालले वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउनका लागि चार वर्षदेखि सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक मनमोहन स्वाँरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले वैदेशिक रोजगारको अवस्था तथा परियोजनाका गतिविधि र उपलब्धीसहितको प्रस्तुती गरेका थिए । कार्यक्रमको परियोजनाका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका सबै १९ वडाका अध्यक्ष, नगर कार्यपालिका सदस्य तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार