२ जेष्ठ २०८१, बुधबार

रुस्लान डिपिएल–२ : घरेलु टोली सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी



धनगढी । कमलसिंह ऐरी तथा शुभांकर उरावको सटिक तथा घातक बलिङ र गौरव चितकारा, सुवास खकुरेल र प्रेम तामाङको आकर्षक ब्याटिङसँगै धनगढीमा जारी रुस्लान डिपिएल–२ मा घरेलु टोली सिवाईसी अत्तरियाले नौ विकेटले विजयी भएको छ ।
आइतबारको पहिलो खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेटले हरायो । आइतबार नै भएको अर्को खेलमा महेन्द्रनगर युनाइटेडले पारस खड्काको बिराटनगर किंग्समाथि ३५ रनको जीत दर्ज गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्स अत्तरियाका बलरहरूको घातक तथा धारिलो बलिङ सामु निरिह हुँदै १५ दशमलव दुई ओभरमा ६१ रनको झिनो स्कोरमा अलआउट हुन पुग्यो । रुपन्देहीका सुफयान मेहमुदले अविजित रहेर २० रन बनाए । २५ बलको सामना गरेका सुफयानले एक छक्का र एक चौका प्रहार गरे ।
उनी बाहेक रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । सून्य रनमा पहिलो विकेट गुमाएको रुपन्देहीका ब्याट्सम्यानको छिटोछिटो मैदानमा आउने र क्रम जारी रह्यो ।
रुपन्देहीको ब्याटिङ पारी तहसनहस पार्न प्रमुख भूमिका निर्वाह गरेका खेलका म्यान अफ द म्याच कमलसिंह ऐरी शुरुका तीन र समग्रमा चार विकेट लिए । चार ओभरको स्पेलमा कमलसिंहले जम्मा १५ रन खर्च गरे ।
त्यस्तै, शुभांकर उरावले अन्त्यतिरका तीन विकेट लिए । दुई दशमलव दुई ओभर बलिङ गरेका उरावले एक मेडन राख्दै सात रन मात्रै खर्च गरे । अत्तरियाका कृष्ण कार्की र विपिन चन्द्रले एक/एक विकेट झारे ।
प्रतिओभर तीन दशमलव एक रनको विजय लक्ष्य सिवाइसी अत्तरियाले सात दशमलव तीन ओभरमै पूरा गर्‍यो ।
१३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३० रनमा अविजित रहेका अत्तरियाका गौरव चितकाराले आठौं ओभरको तेस्रो बलमा बिशाल विजयी छक्का हिर्काएका थिए ।
अत्तरियाका प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले १९ र तेस्रो नम्बरका ब्याट्सम्यान प्रेम तामाङले अविजित १४ रन बनाए ।
आइतबारको अर्को खेलमा कप्तान विनोद भण्डारीको आकर्षक ३५ रन (२९ बल एक छक्का र पाँच चौका) को आकर्षक शुरुवात तथा पुनित मेहरा, पुनित बिष्ट तथा आरिफ शेखको बिस्फोटक ब्याटिङसँगै महेन्द्रनगर युनाइटेडले बिराटनगर किंग्समाथि ३५ रनको विजय प्राप्त गर्‍यो ।
महेन्द्रनगरको ब्याटिङ पारीको आकर्षण छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पुनित मेहरा रहे । जम्मा १८ बल सामना गरेका पुनित मेहरलो तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३८ रन बनाए । दुई विकेट समेत झारेका पुनित मेहरा खेलको म्यान अफ द म्याच समेत बने ।
महेन्द्रनगरका पुनित बिष्ट (२४ रन १४ बल, एक छक्का र एक चौका), आरिफ शेख (२० रन १५ बल, तीन चौका) र हरिशंकर शाह (१९ रन, १८ बल, एक छक्का) ले धुवाधार ब्याटिङसँगै महेन्द्रनगरले २० ओभरको खेलमा पाँच विकेट क्षतिमा एक सय ६८ रनको विशाल रनस्कोर खडा गर्‍यो ।
प्रति ओभर आठ दशमलव ४५ रनको विजय लक्ष्य सहित ब्याटिङ गर्न ओर्लिएको बिराटनगर किंग्सका पृथु बास्कोटा, बाबर हयात र अनिल शाह तथा कप्तान पारसले केही स्तरीय ब्याटिङ गरे पनि ३५ रनको हार बेहोर्न बाध्य भयो । नियमित अन्तरालमा विकेट गुमाएको बिराटनगर १४ औं ओभरमा एक सय ३५ रनमा अलआउट भयो ।
बिराटनगरका पृथुले एक छक्का र दुई चौकासहित ३५ रन बनाए । बिराटनगरको ब्याटिङ पारीमा धुवाधार ब्याटिङ गर्दै बाबर हयातले १० बलमा चार छक्का र दुई चौका सहित ३२ रन बनाए । त्यस्तै, अनिल शाहले २३ र कप्तान पारसले १६ रन बनाए ।
बिराटनगरमाथि ३५ रनको विजय दिलाउने क्रममा महेन्द्रनगरका अविनाश कर्णले तीन तथा पुनित महरा, भूवन कार्की र रोविन क्षेत्रीले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार