२ जेष्ठ २०८१, बुधबार

मन्त्री विश्वकर्मा केहीबेर एयरपोर्टमा अलपत्र



शनिबारदेखि धनगढीमा शुरु भएको रुस्लान डिपिएल–२ को उद्घाटन गर्न आएका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा  धनगढी विमानस्थलमा केहीबेर अलपत्र परे ।
काठमाडौंबाट नेपाल एयरलाइन्सबाट दिउँसो सवा एक बजेतिर धनगढी विमानस्थल उत्रिएका मन्त्री विश्वकर्मा  झण्डावाला सरकारी गाडी नभएका कारण करिब आधा घन्टा विमानस्थल मै बसेका थिए ।
डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही उद्घाटनमा प्रमुख अतिथि बनाइएका मन्त्री विश्वकर्मालाई स्वागत गर्न विमानस्थल गएनन् । एकेडेमीका तर्फबाट स्वागत गर्न अरूलाई पठाइए पनि मन्त्रीका लागि झण्डावाला गाडीको व्यवस्था गरिएको थिएन ।
झण्डावाला सरकारी गाडी नभएपछि उनी २७ मिनेट विमानस्थलमै बसेका थिए । पछि एमाले कार्यकर्ताको पहलमा सरकारी गाडीको व्यवस्था गरेर मन्त्री विश्वकर्मालाई धनगढी पुर्‍याइएको थियो ।
आयोजकले बेवास्ता गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको पहलमा मन्त्री विश्वकर्मा प्रतियोगिता स्थल पुगेका थिए । प्रमुख जिल्ला अधिकारी रिजालले मन्त्री विश्वकर्मा  करिब आधा घन्टा अप्ठेरोमा परेको बताए । उनले भने– ‘मन्त्रीज्यू झण्डै आधा घण्टा अप्ठेरोमा पर्नु भएको हो’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘ढिलो भए पनि व्यवस्थापन गरेर प्रतियोगिता स्थलसम्म पुर्‍यायौं ।’
एमाले कैलालीले आयोजकले मन्त्री आउने बारे पार्टीसँग कुनै समन्वय नगरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार