३ जेष्ठ २०८१, बिहीबार

रुस्लान धनगढी प्रिमियर लिग–२ शुरु



धनगढी । बहुप्रतिक्षित रुस्लान धनगढी प्रिमियर लिग–२ (डिपिएल) शनिबारदेखि धनगढीमा शुरु भएको छ ।
संघीय प्रहरी इकाई कार्यालय, धनगढीको खेलमैदानमा शुरु भएको प्रतियोगिताको एक समारोहबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा अमित श्रेष्ठको धुँवाधार र बिस्फोटक पारीसहित काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ ।
अमितले ६५ बलमा चार छक्का र नौ चौकासहित ८१ रनको सानदार पारी खेलेपछि काठमाडौं गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई सात विकेटले पराजित गर्‍यो ।
जीतका लागि एक सय ४६ रनको लक्ष्य काठमाडौंले आठ बल बाँकी छँदै तीन विकेट गुमाएर भेटाएको थियो ।
काठमाडौंका नरेश बुढाऐरले २४ रन (अविजित), जयकिशन कोल्सावालाले १६ र कप्तान ज्ञानेन्द्र मल्ले १० रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको टिम चौराह धनगढीले छ विकेट क्षतिमा एक सय ४५ रन बनाएको थियो ।
धनगढीका सुनील धमलाले ६८ रन बनाए भने शंकर रानाले ३६ तथा राजु रिजालले ११ रन बनाए ।
प्रतियोगिताको शुरुवातमै ह्याट्रिक बनेको छ । काठमाडौंका साहेव आलमले ह्याट्रिक गरेका थिए ।
उनले १८ औं ओभरको तेस्रो बलमा धनगढीका सुनील धमलालाई आउट गरे । लगत्तैका दुई बलमा उनले क्रमश: सोमपाल कामी र सोनु तामाङलाई पवेलियन फर्काए ।
खेलको म्यान अफ द म्याच काठमाडौं गोल्डेन्सका अमित श्रेष्ठ बने ।
प्रतियोगिताको आज (आइतबार) दुई खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
आज (आइतबार) सीवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सबीच तथा बिराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुने छ ।

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान– खेलकुद मन्त्री
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलमैदान निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबारदेखि धनगढीमा शुरु भएको डिपिएल–२ को उद्घाटन गर्दै मन्त्री सुनारले यो प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे ।
उनले नेपाली क्रिकेटरहरूको खेलले विश्वसामु नेपालको शीर उचो भएको बताए । ‘क्रिकेटरहरूको योगदानप्रति सरकारले सम्मान व्यक्त गर्दछ’ उनले भने ।
आगागी ३० गतेसम्म सञ्चालन हुने डिपिएल–२ मा छ टिमको सहभागिता रहेको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा जारी रुस्लान डिपिएल–२ को विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौं गोल्डेन्सका कोल्सावालालाई पितृशोक
रुस्लान डिपिएल–२ मा सहभागी काठमाडौं गोल्डेन्सका खेलाडी जयकिसन कोल्सावालालाई शनिबार नै पितृशोक परेको छ ।
कोल्सावालाका बुवाको क्यान्सर रोगका कारण शनिबार निधन भएको जनाइएको छ । कोल्सावालाले शनिबार भएको टिम चौराहविरद्धको खेल भने खेले । उनलाई पितृशोक परेका कारण शनिबारको खेलमा काठमाडौं गोल्डेन्सका खेलाडीले हातमा कालोपट्टी बाँधेर खेलेका थिए । कोल्सावालाका स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न खेलाडीले हातमा कालोपट्टी बाँधेर खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार