२ जेष्ठ २०८१, बुधबार

पार्टी एकीकरण छिटै : उपाध्यक्ष रावल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताए पनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए ।
पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा आएका रावलले आज धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।
दुबै पार्टीद्वारा गठीत समितिहरूले आ–आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो । उनले सञ्चारमाध्यममा आएजस्तो पार्टीको भागबण्डामा कुनै बिमति नरहेको बताउँदै दुबै पार्टीका नेतालाई सम्मानजनक रूपमा पद र संख्याको व्यवस्थापन गरिने बताए ।
एकअर्को प्रसंगमा उपाध्यक्ष रावलले देउवा सरकारले हचुवाका भरमा विभिन्न निर्णय गरी देशको अर्थतन्त्रमा केही अप्ठ्यारो पारेकोले त्यसलाई स्पीरिटमा ल्याउन केही समय लाग्ने बताए । अर्थमन्त्री युवराज खतीवडाले हिजो संसदमा पेश गरेको श्वेत पत्रबाट तत्कालीन देउवा सरकारले देशको ढुकुटीमा पारेको असरबारे आमजनतालाई जानकारी भएको बताए ।
नवगठीत सरकारले देशको अर्थतन्त्रलाई मजबूत बनाई पाँच, छ महिनाभित्र आर्थिक विकासमा फड्को मार्ने र तराई, पहाड र हिमालका जनतालाई एकजुट गराई राजनीतिक स्थायीत्व गराउने बताए ।

स्वच्छ खानेपानीमा पहुँच  पुर्याउने आफ्नो पहिलो प्राथमिकता : मन्त्री मगर
नेता रावलसँगै रहेकी खानेपानी मन्त्री बिना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् । आज धनगढी बिमान स्थलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकारमा सम्मेलनमा मन्त्री मगरले सो कुरा बताएकी हुन् ।
नागरिकको आधारभूत आवश्यकताको रूपमा पानी भएकोले त्यसका लागि खानेपानी मन्त्रालयले हरेक नागरिकलाई स्वच्छ पानीमा पहुँच पु¥याउन आवश्यक पहलकदमी थालेको मन्त्री मगरको भनाई थियो ।
क्याबिनेट मन्त्री भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा आएकी मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ का साथै समग्र सात नम्बर प्रदेशको खानेपानीको समस्या समाधानका लागि दृढ भएर लाग्ने प्रतिबद्धता समेत जनाइन् । उनले आफू सात नम्बर प्रदेशको छोरी समेत भएकोले यो प्रदेशको विकास निर्माणका लागि आफूले सधैं लागि पर्ने बताइन् ।
मन्त्री मगर आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ मा जनतासँग शुभकामना आदानप्रदान तथा दिवंगत ज्ञानु दाहाल र पति प्रकाश दाहालको सम्झनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरका लागि भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको टोली सहित आएको मन्त्री मगरका प्रेस संयोजक जी भट्टले बताए ।
संसदीय चुनावमा निर्वाचित भइसकेपछि विविध कारणले आफ्नो निर्वाचन क्षेत्रमा आउन नसकेकी मगर मन्त्री भइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य शिविर सहित जनतासँग भेटघाटका लागि आएको प्रेस संयोजक भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार