३ जेष्ठ २०८१, बिहीबार

आजदेखि रुस्लान डिपिएल–२



धनगढी । सर्वाधिक पुरस्कार राशिको बहुप्रतिक्षित तथा प्रतिष्ठित रुस्लान धनगढी प्रिमियर लीग (डिपिएल)–२ आजदेखि धनगढीमा शुरु हुँदैछ ।
नेपालको सबैभन्दा ठूलो क्रिकेट कपका रूपमा स्थापित डिपिएल–२ को भव्य उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शुरु हुने पूर्वसन्ध्यामा शुक्रबार धनगढीमा लीगको ट्रफी सार्वजनिक गरियो ।
डिपिएलका सबै खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार एक समारोहबीच लीगको आकर्षक ट्रफी सार्वजनिक गरियो ।
सो अवसरमा लीगको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही डिपिएलको साविक विजेता टीम चौराह, धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, सिवाईसी अत्तरियाका कप्तान सुवास खकुरेल, रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचन, काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्काले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।
ट्रफी सार्वजनिक कार्यक्रममा सबै छ टिमका कप्तानहरूले धनगढी प्रिमियर लीग (डिपिएल) नेपाली क्रिकेटको विकासमा कोशेढुंगा सावित भएको चर्चा गरे ।
तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको डिपिएल–२ चैत ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
त्यस्तै, प्रतियोगिताको तेस्रो हुने टिमले तीन लाख र चौथो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैबीच, लीगको सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए) ले जनाएको छ ।
खेल मैदानमा पिच निर्माण, अस्थायी प्याराफिट सहित सम्पूर्ण व्यवस्था पूरा भएको छ । आयोजक डिसिएले प्रतियोगितामा सहभागी हुने सबै छ टिम धनगढी आइसकेको जनाएको छ ।
लीगको शनिबार विशेष समारोहबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार