६ माघ २०८१, आईतवार

सीमावर्ती प्रदेशबीच व्यापारिक सम्बन्ध आवश्यक– भारतीय राजदूत



धनगढी । नेपालका लागि भारतका राजदूत मन्जीत पुरीले प्रदेश नम्बर ७ को आर्थिक विकासका लागि दुई देशका सीमावर्ती प्रदेशहरूबीच व्यापारिक सम्बन्ध बढाउनुपर्ने बताएका छन् ।
‘नेपालको सात नम्बर प्रदेशसँग भारतका उत्तराखण्ड र उत्तर प्रदेश राज्यको सीमा जोडिएको छ’ नेपाल भारत मैत्री संघ कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पुरीले भने– ‘भारतका यी दुई सीमावर्तीं राज्यसँग नेपालको प्रदेश नम्बर ७ ले व्यापारिक सम्बन्ध बढाएमा तीब्र आर्थिक विकास सम्भव छ ।’ राजदूत पुरीले नेपाल र भारतको सीमामा सडक सञ्जाल तथा रेल्वे विस्तार लगायतका काम आवश्यक रहेको बताए ।
‘दुई नागरिकको आवतजावतका लागि त सडक छदैछ, तर व्यापारका लागि रेल्वे सेवा आवश्यक हुन्छ’ उनले भने– ‘यसका लागि भारतीय सरकारले उत्तराखण्ड राज्यबाट दोधारा–चाँदनीसम्म रेलवे विस्तार गर्ने तयारीमा रहेको छ ।’ राजदूत पुरीले नेपालको दोधाराचाँदनीसम्म रेलवे विस्तार भएमा व्यापारिक गतिविधिमा उल्लेख्य बृद्धि आउने विश्वास व्यक्त गरे ।
राजदूत पुरीले भारत सधैं नेपालको आर्थिक विकासका लागि तत्पर रहेको चर्चा गरे । उनले भने– ‘नेपाल सरकारले विकासका योजना र कार्यक्रम दिनुपर्‍यो, भारत त्यसमा लगानी गर्न तत्पर छ ।’ उनले अहिले भारतको लगानीमा नेपालका दक्षिणतिर हुलाकी सडक लगायतका आयोजना सञ्चालनमा रहेको बताए । उनले थपे– ‘दुई देशबीचको व्यापारिक सम्बन्ध अझै फराकिलो बनाउन कार्यक्रम आएमा भारतले सहयोग गर्ने छ ।’
राजदूत पुरीले पर्यटन, वातावरण लगायतका कारणले भारतले कैलालीको धनगढीसँग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नती गर्न नसकिने स्पष्ट गरे । उनले भने– ‘हामी दुई देशबीचको व्यापारिक सम्बन्ध बढाउन चाहन्छौं, तर वातावरण र भुगोलमा प्रभाव पार्न सकिदैन ।’
यसैबीच भारतीय राजदूत पुरीले बिहीबार नै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटघाट गरेका छन् ।
राजदूत पुरीले मुख्यमन्त्रीको कार्यकक्षमा दिउसो करिब आधा घण्टा शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत पुरीले भारतसँग जोडिएका प्रदेश नम्बर ७ नाकाहरूलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्य आवश्यक नाका खुलाउन भारतको केन्द्र सरकारसँग पहल गर्ने प्रसतवद्धता व्यक्त गरेका थिए ।
भेटका अवसरमा राजदूत पुरीले भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सञ्चालनमा रहेका विकास परियोजनालाई दु्रतगतिमा अगाडि बढाउने बताएका थिए ।
राजदूत पुरी बिहीबार नै कञ्चनपुर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार