२ माघ २०८१, बुधबार

राधाको शिक्षा तथा रोजगारीको जिम्मा सरकारको– मुख्यमन्त्री भट्ट



धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा यातना पाएकी कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा कुमारी चौधरीको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था प्रदेश सरकारले मिलाउने बताएका छन् ।
सो मबार धनगढीमा आयोजित एक कार्यक्रममा राधालाई सम्मान गर्दैै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले राधाको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने बताए ।
मुख्यमन्त्री भट्टले भने– राधाले घर फर्किएर आफ्नोपढाइलाई निरन्तरता दिनु पर्दछ । सरकाले पढाईपछि उहाँलाई रोजगारीको प्रबन्ध गर्ने छ ।
उनले देशभर बोक्सीका घटना धेरै भए पनि प्रदेश सरकारको पहलमा पहिलो पटक पीडकका विरुद्ध मुद्दा चलेर कानूनी कारबाही अघि बढेको दावी गरे ।
उनले विगतमा यस्ता घटना प्रायः मिलापत्रमा टुंगिने गरेकोमा अब त्यस्तो अवस्था आउन नदिने बताए ।
सो अवसरमा प्रतिनीधि सभा सदस्य लक्ष्मी कुमारी चौधरीले बोक्सीको आरोप लगाएर यातना दिने विरुद्ध अझ कडा कानून बनाउने प्रयास गरिने बताइन् ।
अखिल नेपाल महिला संघ, कैलालीले आयोजना गरेको ‘बोक्सीको आरोप विरुद्धको अभियानमा हाम्रो दायित्व विषयक कार्यक्रममा उपस्थित बोक्सीको आरोपमा यातना पाएकी राधालाई प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दीर्घबहादुर सोडारी र वन तथा वातावरण मन्त्री माया भट्टले खानेकुरा उपलब्ध गराएका थिए ।
सो अवसरमा एमाले नेतृ गरिमा शाहले राधालाई पढाई खर्च वापत चार हजार रुपैयाँ प्रदान गरिन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सोडारीले यातनाबाट पाठ सिक्दै राधाले बोक्सी लगायतका कुप्रथा विरुद्धको अभियन्ता बन्न आग्रह गरे ।
बन तथा वातावरण मन्त्री भट्टले कुरिति, कुसंस्कार विरुद्ध महिला र पुरुषहरु मिलेर अभियान चलाउनु पर्ने बताइन् ।
प्रदेश सभाकी उपसभामुख निर्मला जोशीले बोक्सी लगायतका कुरुति विरुद्धका कानूनको कार्यान्वयन कडाईका साथ लागू गरे राधा चौधरीले भोग्नु परेको यातना अरुले भोग्न नपर्ने बताइन् । 

संस्कृति र इतिहासविद पूर्वमन्त्री डाक्टर मोदनाथ प्रश्रितले महिला जागरण अभियान चलाएर बोक्सी लगायतका कुरिती विरुद्धको गतिविधी तिव्र बनाउनु पर्ने सुझाव दिए । विज्ञानको युगमा बोक्सी वा बोक्सा छ भन्नु आश्चर्य हो उनले भने– पुरोहित र पुराणबाचकले गर्दा देश अझै अन्धविश्वासमा डुवेको छ ।
एमाले नेतृ शाहले दृढ विश्वासका साथ अध्ययन अघि बढाएर राधाले सामाजिक अभियन्ता बन्न आह्वान गरिन् ।
संघकी अध्यक्ष गीता सोडारीका अध्यक्षतामा भएकोे कार्यक्रममा अधिवक्ता गोविन्द शर्मा वन्दीले बोक्सी लगायतका कुरिती बिरुद्धका कानून बारे चर्चा गरेका थिए । 
कार्यक्रममा प्रतिनीधि र प्रदेश सभाका सदस्य, कैलालीका स्थानीय तहका उपप्रमुख र राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत र जोशीपुर गाउँपालिकाका उपप्रमुख गीता कठरियाले कैलाली कुरितीको अवस्था बारे बोलेका थिए ।  
राधाले भोलेबाबा भनिने रामबहादुर चौधरीबाट फागुन २४ गते महिला दिवसकै दिन बोक्सीको आरोपमा यातना भोग्नु परेको थियो । भोलेबाबा र उनका छ जना सहयोगीहरुलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार