१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्रीद्वारा ट्राफिक व्यवस्थापनबारे चासो



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको ट्राफिक व्यवस्थापनबारे चासो राखेका छन् ।
सोमबार प्रदेश नम्बर ७ का क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेशबहादुर पाललाई आफ्नो कार्यकक्षमा बोलाएर प्रदेशको ट्राफिक व्यवस्थापनबारे जानकारी लिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
सो अवसरमा क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पालले पहाडी क्षेत्रमा ट्राफिक व्यवस्थापनको खासै समस्या नभए पनि तराईका दुई जिल्लामा बढी चुनौति र समस्या रहेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
क्षेत्रीय ट्राफिक प्रमुख एसपी पालले जनशक्ति अभाव भएकोका कारण ट्राफिक व्यवस्थापनमा चुनौति रहेको बताएका थिए ।
मुख्यमन्त्री भट्टले अहिले मौजुद रहेको स्रोत साधन तथा जनशक्तिको अधिकतम प्रयोग र परिचालन गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीले ट्राफिक नियमको कडाईका साथ पालना गर्न, गराउन तथा नियम कार्यान्वयनका शिलशिलामा कसैले अटेर गरेमा आफूलाई सोझै फोन गरेर जानकारी दिन पनि निर्देशन दिएको जनाइएको छ ।
मुख्यमन्त्री भट्टले थप जनशक्ति र स्रोत साधनका लागि केन्द्र सरकारसँग पहल गर्ने बताएका थिए । उनले धनगढी, महेन्द्रनगर, टीकापुर, अत्तरिया लगायतका बढी चाप हुने स्थानमा ट्राफिक व्यवस्थापन बढी चुस्त बनाउन निर्देशन दिए ।
त्यस्तै, सोमबार नै मूख्यमन्त्री भट्टले कैलालीस्थित यातायात व्यवस्था कार्यालयमा छड्के अनुगमन गरेका छन् । कार्यालयबाट प्रदान हुने सेवाहरूबारे सेवाग्राहीको जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायात कार्यालयमा छड्के अनुगमन गरेको जनाइएको छ ।
मूख्यमन्त्री भट्ट यातायात कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीको निकै भिड थियो । सेवाग्राहीहरू तीन लाईनमा बसेर लिखित परीक्षाको फाराम बुझाई रहेका थिए ।
मुख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसँग कार्यालयले प्रदान गर्ने सेवाहरूको बारेमा जानकारी लिएका थिए । सेवाग्राहीहरूले मुख्यमन्त्रीसँग सेवा पाउन निकै खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो गरेका थिए ।
मुख्यमन्त्री भट्टले जनतालाई छिटो छरितो र सरकारले तोकेको राजस्व रकम लिएर सेवा प्रदान गर्न कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ ।
यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छड्के अनुगमनमा आएको बताउँदै मूख्यमन्त्री भट्टले जनताले पाउनु पर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारवाही गर्न पछि नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार